PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

'जिरो केस' रहेको मनाङमा दुई जनामा देखियो कोभिड १९



रासस

'जिरो केस' रहेको मनाङमा दुई जनामा देखियो कोभिड १९

मनाङ : कोभिड १९ संक्रमितको शून्य केसमा झरिसकेको हिमालपारीको जिल्ला मनाङमा दुई जनामा संक्रमण देखिएको छ। संक्रमित दुवै जना अहिले आइसोलेसनमा छन्।

शुक्रवार तीन जना सङ्क्रमित निको भएसँगै जिल्लामा निको हुनेको सङ्ख्या चार पुगेको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्रीराज आचार्यले जानकारी दिए। उनका अनुसार हालसम्म जिल्लामा छ सङ्क्रमितमध्ये चार जना निको भइसकेका छन्। अहिले थप दुई जनामा संक्रमण देखिएको हो।

'निको भएका सङ्क्रमितलाई सम्मानपूर्वक आइसोलेसनबाट बिदाइ समेत गरिसकिएको छ, अब आइसोलेसनमा शुक्रवार थपिएका एक जना र त्यसअघिका एक जना पुरुष गरी दुई जना रहेका छन्, उनीहरु पनि छिट्टै निको हुनेछन्,' आचार्यले भने, 'शुक्रबार थपिएका सङ्क्रमितको पहिचान कन्ट्याक्ट ट्रेसिङबाट भएको हो।'

त्रिहत्तर जनाको पीसीआर परीक्षण गरिएको मध्ये गोरखाको आरुघाट–७ घर भई हाल मनाङमा कार्यरत एक प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अहिले जिल्लामा दुई सङ्क्रमित आइसोलेसनमा रहेको उनले बताए। उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य रहेको आचार्यको भनाइ छ।

यही भदौ १६ गते ७३ जनाको स्वाब नमूना सङ्कलन गरिएकामा ७२ जनाको भने रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ। हालसम्म १ सय ९२ जनाको परीक्षण गरिएकोमा छ जनामा सङ्क्रमण पुष्टि भएको थियो। शुक्रवार आइसोलेसनमा रहेका सङ्क्रमितको पुनः परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको आचार्यले बताए।

मनाङमा कोरोना सङ्क्रमण मुक्त भइसकेपछि पुनः सङ्क्रमण देखिएको हो। जिल्लामा सङ्क्रमण देखिन थालेपछि स्थानीयवासी भने त्रसित बनेका छन्। मनाङमा धेरैजसो शिक्षक, कामदार, कर्मचारी बाहिरी जिल्लाबाट आउने हुँदा सङ्क्रमण देखिएको हो। हालसम्म स्थानीयवासीमा भने सङ्क्रमण देखिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell