PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

पाटनका चार टोलका १६० जनाले तान्ने छन् रातो मछिन्द्रनाथको रथ, ‘घरमै बसेर रथयात्रा हेरौं’



पहिलोपोस्ट

पाटनका चार टोलका १६० जनाले तान्ने छन् रातो मछिन्द्रनाथको रथ, ‘घरमै बसेर रथयात्रा हेरौं’
फाइल फोटो

काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण रोकिएको बुंगद्य: (रातो मछिन्द्रनाथ) को रथयात्रा आज हुँदैछ। आज दिउँसो ३ बजे रातो मछिन्द्रनाथको रथलाई तानेर करिब २० मिटर टाढा रहेको सोह्रखुट्टे पाटीमा पुर्‍याउने कार्यक्रम तय भएको छ। यसअघि भने पुल्चोकबाट रथ तानेर गा:बाहाल सम्म रथ पुर्‍याइन्थ्यो।  यस्तै मंगलबजारभन्दा केहीमाथि रोकिएको मीननाथको रथलाई समेत तानेर मदन स्मारक स्कुलसम्म लग्ने बताइएको छ।

गत बिहीवार पुल्चोकमा रहेको रथलाई करिब ५ मिटर टाढा पुर्‍याउँदा रथ तान्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएको थियो। त्यसयता रथ सडकको बीचबाटैमा छ।

झडपपछि सरोकारवाला निकाय र गुठी खल: हरुको संयुक्त बैठकले रातो मछिन्द्रनाथको रथयात्रालाई औपचारिकता मात्र दिने निर्णय गरिएको थियो।

औपचारिकता पूरा गर्न आज पाटनका चार टोलका १६० जना मिलेर रथ तान्ने छन्। गा: बहालका ४० जना, वछुत्वा नुग:का ४० जना, लगँयाका ४० जना, र जावलाख्यका ४० जना मिलेर रथ तान्ने छन्। यसरी रथ तान्नेहरुको व्यस्थापन सम्बन्धित टोलको जात्रा व्यवस्थापन समितिले गर्नेछ। १६० जनाको पहिचान गर्न टिसर्ट र क्यापको व्यवस्था गरिनेछ।

यसपटक रथ यात्रामा कायगुनन त्वाले ‘हपा:’ दिनेछ। रथयात्राको क्रममा बाजा बजाउनेहरुको संख्या पनि निर्धारित गरिएको छ। ४ वटा धिमे बाजा खल: बाट २० जना, का: बाजामा ४ जना र नाय्खी बाजामा ४ जना रहनेछन्।

आजको रथयात्रामा स्थानीयलाई नआउन आग्रह गरिएको छ। घरमा नै बसेर प्रत्यक्ष प्रशारण हेर्न सरोकारवालाहरुले आग्रह गरेका छन्। आज रथलाई स्रोहखुट्टे पाटीसम्म तानेर छ्वयलाबु गरिनेछ। यस अवसरमा पाटनबासीहरुलाई घरमा कसैलाई पनि नख:त्या (भोज) नबोलाउन आग्रह गरिएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले बताए।   

रथयात्रा हुने क्रममा सीमित व्यक्तिहरुलाई मात्र प्रवेश दिइनेछ।  यस्तै रथयात्रा व्यवस्थापनका लागि माथि उल्लेखित चारवटा टोलसहित केही जातीय पुच: हरुबाट करिब ११० जना स्वयंमसेवकका रुपमा खटाइनेछ।

यसरी रथयात्राका क्रममा मास्क, स्थानिटाइजर, भाइजर र पन्जाको समेत व्यवस्थन हुनेछ।

कोरोना महामारीका कारण रथयात्रा सम्पन्न गर्न नसकेको भन्दै शुक्रवार रातो मछिन्द्रनाथको क्षमा पूजा गरिएको थियो।

भाद्र २२ गते भने भुज्याय् मनाउने तय भएको छ। त्यसपछि मंगलबजारमा रहेको मणिमण्डपमा रातो मछिन्द्रनाथलाई बुंगमती फर्काउन साइत हेरिनेछ। सम्भवत भाद्र २६ गते रातो मछिन्द्रनाथलाई खटमा राखेर बुंगमती फिर्ता लाने साइत निस्कने बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell