डिज्नीको अमेरिकन इपिक ड्रामा ‘मुलान’ डिज्नी प्लसमार्फत् सार्वजनिक गर्यो। फिल्ममाथि समीक्षकले मिश्रित प्रतिक्रिया जनाएका छन्। जसमध्य धेरैले उक्त फिल्म सिनेमा घरमै रिलिज गरिएको भने उपयुक्त हुने बताएका छन्।
टेलिग्राफमा रोब्बी कोलिनले प्रश्न गरेका छन्,’यो सिनेमालाई किन डिज्नीले ठूलो पर्दामार्फत् प्रदर्शन गरेन?’
उनले ‘मुलान’ हेर्नका लागि आश्चर्यजनक दृश्यहरू भए पनि मन नछुने सामाग्रीका रुपमा व्याख्या गरेका छन्। डिजिटल प्ल्याटफर्ममार्फत् रिलिज गर्दा फिल्मले पार्ने ठूला ठूला प्रभावहरू गुमाएको जनाएका छन्। लेखेका छन्,’निकी कारोको निर्देशन रहेको यस फिल्ममा थुप्रै दृश्य छन् जुन बैठक कोठाभन्दा ठूलो ठाउँमा बसेर हेर्न योग्य छन्।‘
समीक्षक एम्पायर बेथ वेबले कोलिनको तर्कमा सहमती जनाएकी छिन्। उनले पनि फिल्म डिजिटल प्ल्याटफर्मका लागि उपयुक्त नभएको धारणा व्यक्त गरेकी हुन्। फिल्म बारे भने लेखेकी छिन् : मुलान डिज्नीको हालसम्मको उत्कृष्ट ‘लाइभ एक्सन एडप्टेसन’ हो।
यस फिल्मको बजेट दुई सय मिलियन अमेरिकी डलरभन्दा बढी हो। तर, समीक्षक केभेन माहेरले ‘द टाइम्स’मा फिल्म बजेट अनुरुप नभएको बताए। उनले फिल्मलाई २ स्टार मात्र दिएका छन्। लेखेका छन्,’दुई सय मिलियन डलर खर्च गरेर कसरी एउटा प्रोजेक्ट गडबड गर्न सकिन्छ भन्ने उदाहरण हो यो फिल्म।‘
उनले मुलानलाई ‘संरचनात्मक विपत्तिपूर्ण रिबुट’का रूपमा वर्णन गरे र थपे,’फिल्म तर्क संगत र राजनीतिक हिसाबमा पनि सही छैन।‘
आफ्नो बिरामी बुबालाई सेनाका लागि लड्न जानबाट रोक्न खोज्छिन्, हुवा मुलानले। उनी एक साहसी युवती हुन् जो उत्तरी भेगबाट चीन पसेका दुस्मनहरुसँग लड्न पुरुषको भेषमा मैदान छिर्छिन्। तीनै युवतीको कथामाथि बनेको छ मुलान।
‘द सन’मा डल्सी पिर्सले फिल्मलाई ३ स्टार दिएकी छिन्। ‘केही दृश्यमा भयङ्कर लडाईहरू देखाइएका छन्। विल्कुल रगतविहीन। यस भर्सनमा ह्युमर, गीतको पनि अभाव खट्कन्छ।’
‘भ्यानिटी फेयर’का लागि रिचार्ड लसनले पनि फिल्मको सकारात्मक टिप्पणी गरेनन्। उनले फिल्मका दृश्यहरू अविश्वसनीय भएको बताएका छन्।
द इभिनिङ स्ट्यान्डर्डमा चार्लोट्स ओ’अप्लाउडले मुख्य भूमिका निर्वाह गरेकी इफेइको तारिफ गर्दै फिल्मलाई चार स्टार दिएकी छिन्।
फिल्मको एनिमेटेड भर्सनले त्यस समयमै ३ सय ४ मिलियन अमेरिकी डलर कमाएको बीबीसीमा जनाइएको छ।
सन् १९९८ को एनिमेटेड फिल्म यसै वर्ष मार्चमा सार्वजनिक हुने तयारीमा थियो। तर, कोरोना भाइरस महामारीका कारण फिल्म प्रदर्शन प्रभावित बन्यो। नेपालमा पनि मुलान प्रतिक्षित थियो। यहाँका सिनेमा घरहरू बाहिर प्रचारका लागि राखिएका पोस्टरहरू अझै पनि निकालिएका छैनन्। तर, नेपाली दर्शकका लागि फिल्म कहिले उपलब्ध हुन्छ टुंगो छैन।
मिश्रित प्रतिक्रिया पाइरहेको ‘मुलान’ अमेरिका बाहिरका दर्शकको लागि सन् २०२१ मा मात्र प्रदर्शन हुनेछ।
‘मुलान’ डिज्नी प्लसमार्फत् सार्वजनिक हुनु अघि नै बेलायती सिनेमाका प्रतिनिधि संस्थाहरूले विरोध गरेका थिए।
