आज सेप्टेम्बर ६। नेपाली क्रिकेटको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय म्याच खेलेको दिन। यो २५* वर्षमा नेपालको क्रिकेटले गजबको छलाङ मारेको छ। सीमित स्रोत साधनका बाबजुद नेपाल एक दिवसीय मान्यता पाएको टिम भइसकेको छ। टी-२० विश्वकपमा सहभागिता जनाएर सम्मानजनक प्रतिस्पर्धा पनि गरिसकेको छ नेपालले। २५ वर्ष अघि नेपाली टिमले आजैका दिन बंगलादेशविरुद्ध पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो।
तत्कालीन नेपाली क्रिकेट टिमका उपकप्तान लेख क्षेत्रीले आजको दिन झल्झली सम्झेका छन्। २५ वर्षे यात्राको स्वर्ण सम्झनालाई उनले सामाजिक सञ्जालमा पेश गरे।
‘नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय खेलका रुपमा सेप्टेम्बर ६, १९९६ मा बंगलादेशविरुद्ध खेल्दा त्यसको सदस्यका रुपमा आफूलाई पाउँदा गर्ववान्वित छु,’ क्षेत्रीले लेखेका छन्। साथै उनले त्यतिबेलाका टिम मेट, अफिसियल र परिवार लगायतलाई सम्झिएका छन्।
उनको टिममेट मध्येका एक थिए पवन अग्रवाल। पवनले पछि नेपाली टिमको नेतृत्व पनि गरे। २५ वर्ष अघिको त्यो ऐतिहासिक क्षण अझै पनि उनको स्मृतिबाट बाहिरिएको छैन।
‘टिमका लागि पहिला एउटा नेशनल टुर्नामेन्ट भएको थियो - जय ट्रफी भन्ने। त्यसबाट २५ जना जति छनोट गरिएको थियो, प्रदर्शनको आधारमा। र, क्याम्प राखिएको थियो वीरगंजमा,’ अग्रवालले सम्झिए, ‘त्यही क्याम्पबाट १४ सदस्यीय टिम बनेको थियो। म बाराबाट छनोट भएको थिएँ।’
त्यतिबेला बर्खामास र गर्मीको समयमा वीरगंजमा बन्द प्रशिक्षण भएको थियो जहाँ अहिलेको जस्तो सुविधा त कल्पना बाहिरको विषय थियो।
‘बीरगंजमै नेसनल टुर्नामेन्ट र क्लोज क्याम्प पनि भएको थियो। त्यहीँको माइस्थान धर्मशाला भन्नेमा राखिएको थियो हामीलाई। सबै जनालाई एउटै हलमा। एकजना कोच भारतबाट, अर्का पाकिस्तानबाट थिए। र, यहीँका दुई प्रशिक्षक अरुण अर्याल र सुमन भट्टराई,’ नोस्टाल्जिक हुँदै अग्रवालले भने, ‘क्रिकेटको एकदमै सुरुमा थियौं हामी। बाहिरको टिम कस्ता छन् खासै थाहा थिएन। तयारीमा पनि सुविधाहरु खासै थिएन। वर्षातको मौसम थियो जुन जुलाईको सिजन।’
उनी पिच हिलो भएपछि रनिङ ट्र्याकमा अभ्यास गरेको सम्झिन्छन्। खासमा क्याम्प जस्तै क्याम्प हुन पाएको थिएन। त्यस्तै तयारीमा बंगलादेशसँगको पहिलो म्याच! त्यहाँको टुर्नामेन्टमा नेपाली टोलीले अलि धेरै सुनेका, चिनेका र केही बुझेकाहरु टिम नै बंगलादेशमा थिए। अरु टिमबारे त थाहै थिएन।
‘बंगलादेशको टिम राम्रो थियो। पहिलो म्याच नै हाम्रो बंगलादेशसँग पर्यो। ओभरअल हाम्रो पर्फमेन्स राम्रै थियो। हामीले पहिला फिल्डिङ गरेका थियौं। उनीहरुले २ सय १३ रन बनाए ५० ओभरमा। यो स्कोर ठूलो त थिएन। त्यसमा फिल्डिङ पनि हाम्रो खास गतिलो भएन। क्याचहरु पनि मिस्टेक गरियो,’ उनले भने, ‘हामी सन्तुष्ट नै थियौं। हाम्रोमा मौसम बिग्रियो। हामीले ३७ ओभरमा ५ विकेटको क्षतिमा ९० रन बनाउँदा पानी परेपछि रनरेटको आधारमा बंगलादेशले जितेको थियो।'
त्यसो त क्षेत्रीले यसअघि उनको पुस्तक ‘कप्तान १९९८’ मा पनि नेपालको पहिलो खेल्दाको क्षणलाई पनि वर्णन गरेका छन्। क्षेत्रीले उनको पुस्तकमा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेललाई यसरी सम्झिएका छन् :
पहिलो राष्ट्रिय टोलीको छनोट
वीरगन्जको १२औँ जय ट्रफी किन पनि महत्वपूर्ण थियो भने यसै प्रतियोगिताबाट नेपाली राष्ट्रिय टिम तयारी हुँदै थियो। त्यो पनि आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनका लागि। एसियाली क्रिकेट परिषद् (एसीसी) ले टेस्ट मान्यता नपाएका एसियाली राष्ट्रहरुबीच भाइचारा बढाउनुका साथै क्रिकेटको विकास गर्ने उद्देश्यले पहिलोपटक एसीसी ट्रफी सुरु गर्दै थियो। प्रथम एसीसी च्याम्पियनसिप मलेसियामा गर्ने तय भएको थियो।
नेपाल क्रिकेट संघ (क्यान) लाई राष्ट्रिय टिम तयार गर्नैपर्ने थियो। तसर्थ, जय ट्रफीमा उच्च प्रदर्शनका आधारमा २५ जनालाई प्रारम्भिक छनोट गरियो। बाँकेबाट गणेशबाहुदर शाही र म छानियौँ। हामीलाई वीरगन्जमै बन्द प्रशिक्षणका लागि बोलाइयो। माइस्थानको धर्मशालामा बस्ने, मेसमा खाने र नारायणी रंगशालामा प्रशिक्षण तथा अभ्यास गर्ने तालिका तयार थियो। कंक्रिट पिच थियो। म्याटमा अभ्यास गराइयो। बन्द प्रशिक्षणका लागि भारतका वीरेन्द्र भटनगर र पाकिस्तानका फारुक जामानलाई प्रशिक्षकको रुपमा ल्याइएको थियो। उनीहरुसँगै नेपाली प्रशिक्षकहरु अरुण अर्याल र सुनोज भट्टराईको निगरानीमा बन्द प्रशिक्षण चल्यो। वीरगन्जको चर्को गर्मीमा एक महिना बन्द प्रशिक्षण गर्नु निकै कठिन थियो। बिहान-बेलुका दौडने र अभ्यास गर्ने गर्थ्यौ। तापक्रम ४२ डिग्री नाघेको थियो। एक महिने बन्द प्रशिक्षणमा छाला डढेर म झन् कालो भएको थिएँ।
म प्रदर्शनबाट सन्तुष्ट थिएँ। त्यसैले टिममा पर्ने आत्मविश्वास पलाएको थियो। नेपालबाट पहिलोपटक राष्ट्रिय प्रतियोगिता खेलिरहेको हुँदा छनोट प्रकिया के-केस्तो होला भन्ने संशय भने मनमा थियो। किनभने खेलाडी छनोटमा भारतको पनि भनसुन चल्थ्यो। वीरगन्ज छनोटमा त्यस्तो हुने सम्भावना कमै थियो। नभन्दै बन्द प्रशिक्षणपछि छनोट हुने १८ जनामा बाँकेबाट म र गणेश अटाएका थियौं। राष्ट्रिय टिम घोषणा गर्न अझै ४ जना खेलाडी हट्न बाँकी नै थियो। मैले मिहिनेत, लगनशीलता र अनुशासनमा कहीँकतै कमी आउन दिएको थिइनँ। त्यसैले १४ सदस्यीय राष्ट्रिय टिममा गणेश र म पनि पर्यौं। यसले बङ्गालमा हराएको मेरो क्रिकेट खुसी फर्किएझैँ लाग्यो।
मेरा दुई सपना थिए, पहिलो अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेल्ने। दोस्रो, त्यो पनि नेपालको राष्ट्रिय टिमबाट। भारतमै बसेर सपना देखेको खेलाडी आफ्नै दशको राष्ट्रिय टिमको जर्सीमा खेल्न पाउनु कम्ती गर्वको विषय थिएन। साँच्चै त्यो जीवनकै ठूलो खुसी थियो।
प्रथम एसीसी १९९६ मलेसिया
वीरगन्जको एक महिने बन्द प्रशिक्षणपछि म कोहलपुर फर्केँ। २२ अगस्ट १९९६ मा क्यान अध्यक्ष जयकुमारनाथ शाहले हस्ताक्षर गरेको फ्याक्स प्राप्त भयो। त्यसमा राष्ट्रिय टिममा छनोट भएका खेलाडीको अन्तिम नामावली थियो। जिम्मेवारी बाँडफाँट गरिएको थियो। फ्याक्स हात पारेपछि खुसीको झन् सीमा रहेन। किनभने मलाई उपकप्तानको जिम्वारी दिइएको थियो। कप्तानमा उत्तम कर्माचार्या छनोट भएका थिए।
सँगै, जिम्मेवारीबोध पनि गरायो। पहिलो राष्ट्रिय टिममा उत्तमकुमार कर्माचार्य (धनुषा) कप्तान, लेखबहादुर क्षेत्री (बाँके) उपकप्तान, मनीषराज पाण्डे (मोरङ), पवन अग्रवाल (बारा), पुकार पन्त (ललितपुर), सञ्जय गुरुङ (रुपन्देही), जगत टमाटा (रुपन्देही), राजु खड्का (रुपन्देही), मुसरफ इजहार (पर्सा), गणेश शाही (बाँके), किरण राणा (काठमाडौं), वसन्त शाही (रुपन्देही), विशाल गुप्ता (बारा) र रितेश बराल (धनुषा) थिए।
चार जनालाई वैकल्पिकमा राखिएको थियो। त्यसमा विकेट किपरको रुपमा शङ्कर राणा, ब्याट्सम्यान सन्दीप श्रेष्ठ, अलराउन्डरका रुपमा सर्वजित पाण्डे र बलरको रुपमा राकेश पन्त थिए। छनोट समितिको संयोजकमा तत्कालीन क्यानका टीबी शाह थिए। उनले लामो समय नेपाली क्रिकेटको सेवा गरे।
प्रथम एसीसी च्याम्पियनसिप ६ देखि १६ सेप्टेम्बरमा मलेसियामा हुँदै थियो। पहिलो दिन नै हम्रो म्याच थियो। त्यसैले ४ सेप्टेम्बरमै हामी उड्यौँ। तत्कालीन क्यानका महासचिव विनयराज पाण्डेको कार्यालयबाटै क्यानको सम्पूर्ण गतिविधि सञ्चालन हुन्थ्यो। पोसाक र जुत्ता हामीले त्यहीँबाट पायौं। क्यानका अध्यक्ष साह, उपाध्यक्ष टीबी साह, महासचिव पाण्डेलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टिमलाई बिदाइ गरे। बिदाइका बेला अध्यक्ष साहले भनेका थिए, 'ल, राम्रो गरेर फर्किनु।'
दौरासुरुवाल, कोट र भदागाँउले टोपीमा खेलाडीहरु सजिएका थिए। मेरा लागि राष्ट्रिय पोसाक पहिरिएको त्यो पहिलो अनुभव थियो। त्यसैले फोटो सेसनमा म रमाएको थिएँ। थाइल्यान्ड हुँदै हामी क्वालालम्पुर पुग्यौँ। त्यहाँबाट बसले हामी बस्ने पाँचतारे होटल क्राउन प्रिन्सेस पुर्यायो।
मलेसियामा टर्फ र स्ट्रोटर्फमा प्रतियोगिता भएको थियो। प्रतियोगितामा १२ टोलीको सहभागिता थियो। जसलाई २ समूहमा बाँडिएको थियो। एउटा समूहबाट शीर्ष २ देश सेमिफाइनल पुग्थे।
नेपाली क्रिकेटको डेब्यू खेल
नेपालले आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गर्दै थियो। मैले पनि राष्ट्रिय टिम र एसीसी च्याम्पियनसिपमा डेब्यू गर्दै थिएँ। नेपालले क्वालालम्पुरको तेनागा नेसनल स्पोर्ट्स कम्प्लेक्समा बंगलादेशसँग पहिलो खेल ६ सेप्टेम्बरमा खेल्यो। बंगलादेशले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय १३ रन बनायो। हारुन रसिदले ५२ रन बनाएका थिए। मैले र राजु खड्काले २-२ विकेट लियौँ।
नेपालले ३९.२ ओभरमा ५ विकेट गुमाएर ९० रन बनाउँदा पानी पर्यो। वर्षातले खेल रोकिएपछि फास्ट स्कोरिङ रेटका आधारमा बंगलादेशलाई विजयी घोषणा गरियो।
पहिलो अन्तर्राष्ट्रिय जित
७ सेप्टेम्बरमा नेपालले पेनाङको मैदानमा जापानसँग दोस्रो म्याच खेल्यो। जापान ३३ ओभरमा सबै विकेट गुमाएर ७२ रनमा समेटियो। नेपालका तर्फबाट मैले ६ ओभरमा ८ रन दिएर ३ विकेट लिए। गणेशले ३ वटा स्टम्पिङ र २ वटा क्याच गरेको थियो। जापानका एचमिनामीले सर्वाधिक १७ रन बनाएका थिए।
नेपालले ७३ रनको टार्गेटलाई १५ ओभरमै २ विकेटको क्षतिमा पुरा गर्यो। त्यसमा मनीषराज पाण्डेले २७ रनको योगदान गरेका थिए। यो नेपालको पहिलो अन्तर्राष्ट्रिय जित थियो।
*२५ हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको।