भारतको केरलामा कोभिड १९ संक्रमित युवतीको बलात्कार भएको छ। अचम्म त के छ भने उनलाई अस्पतालसम्म पुर्याउन आएका एम्बुलेन्स चालकले नै एकान्त ठाउँमा लगेर बलात्कार गरेका हुन्।
घटना दक्षिण केरलास्थित पठानमथिट्टा जिल्लाको अरममुला इलाकामा शनिवार राती भएको हो। अभियुक्त चालकलाई प्रहरीले गिरफ्तार गरिसकेको छ।
प्रहरीका अनुसार एम्बुलेन्समा दुई संक्रमित थिए। एउटालाई चालकले बाटोमै उतारिदिए। अनि एम्बुलेन्सलाई सुनसान ठाउँमा लगेर संक्रमित युवतीको बलात्कार गरे। त्यहाँबाट अस्पतालको कोभिड केयर सेन्टरमा छोडिदिए। त्यहाँ पीडित महिलाले अस्पतालका कर्मचारीलाई जानकारी गराइन्। कर्मचारीले प्रहरीलाई खबर गरे।
पठानमथिट्टा जिल्ला प्रहरी एसपी केजी साइमनले एम्बुलेन्स चालक २५ वर्षीय नौफललाई हिरासतमा लिएको जानकारी दिए। उनका अनुसार अलाप्पुझा जिल्लाका स्थानीय नौफल २०१९ को हत्या प्रयास मुद्दाका अभियुक्त समेत हुन्। नौफल राज्य स्वास्थ्य विभागको १०८ एम्बुलेन्स सेवामा चालकका रुपमा कार्यरत छन्।
नौफलले एम्बुलेन्सलाई अस्पताल लैजाने क्रममा एकान्त मरुभूमि क्षेत्रमा लगेर बलात्कार गरेको एसपी साइमनले बताए। अस्पताल पुगेपश्चात पीडितले कर्मचारीमार्फत जानकारी गराएपछि घटना बाहिर आएको हो।
प्रहरीले पीडितको वयान लिइसकेको छ। पीडित युवतीलाई कोभिड अस्पतालमा विशेष परामर्श दिएर उपचार भइरहेको द इण्डियन एक्सप्रेसले जनाएको छ।
घटनाप्रति केरलाकी स्वास्थ्य मन्त्री के के शैलजाले दु:ख व्यक्त गरेकी छन्। अभियुक्तविरुद्ध कडा कारवाही गर्न प्रहरीलाई निर्देशन दिएकी छन्।
यसअघि राजधानी नयाँ दिल्लीमा दुई महिला कोभिड केयर सेन्टरमै बलात्कृत भएका थिए। भारतमा कोभिड संक्रमित महिलामाथि यौन दुर्व्यवहारका घटना बढ्दो क्रममा रहेको सञ्चारमाध्यमले जनाएका छन्।
