PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

रातो मछिन्द्रनाथ र मीननाथको रथयात्रा सम्पन्न

रातो मछिन्द्रनाथ र मीननाथको रथयात्रा सम्पन्न

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : लोकेश्वर बुंगद्य: (रातो मछिन्द्रनाथ) र मीननाथ को रथयात्रा सम्पन्न भएको छ। दुवै रथलाई आइतबार पुल्चोकको सोह्रखुट्टे पाटी पुर्‍याइएको हो। यससँगै देशको सबैभन्दा लामो रथयात्रा यो वर्ष औपचारिकता निर्वाह गरेर सम्पन्न भएको छ। कोरोना संक्रमणका कारण बैशाखमा नै हुनुपर्ने रथयात्रा रोकिएको थियो।

बिहीवार पुल्चोकमा रहेको रातो मछिन्द्रनाथको रथ तानेर करिब ५ मिटर टाढा पुर्‍याउँदा रथ तान्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएको थियो। त्यसयता रथ सडकको बीचबाटैमा थियो। त्यसपछि सरोकारवाला निकाय र गुठी खल: हरुको संयुक्त बैठकले रातो मछिन्द्रनाथको रथयात्रालाई औपचारिकता मात्र दिने निर्णय गरिएको थियो।

रथलाई  आज सोह्रखुट्टे पाटी पुर्‍याएर आजै नै छ्वयलाबु गरिएको छ।। यस अवसरमा पाटनबासीहरुलाई घरमा कसैलाई पनि नख:त्या (भोज) नबोलाउन आग्रह छ।   

औपचारिकता पूरा गर्न आज पाटनका चार टोलका १६० जना मिलेर रथ तानेका थिए। गा: बहालका ४० जना, वछुत्वा नुग:का ४० जना, लगँयाका ४० जना, र जावलाख्यका ४० जना मिलेर रथ तानेका हुन्।

यसपटक रथ यात्रामा कायगुनन त्वाले ‘हपा:’ दिएको थियो। रथयात्राको क्रममा बाजा बजाउनेहरुको संख्या पनि निर्धारित गरिएको थियो। ४ वाटा धिमे बाजा खल: बाट २० जना, का: बाजामा ४ जना र नाय्खी बाजामा ४ जना रहेका थिए।

रथयात्राका क्रममा निश्चित गरिएका व्यक्तिबाहेक अन्यलाई प्रवेश दिइएको थिएन।

भाद्र २२ गते भने भुज्याय् मनाउने तय भएको छ। आजै नै मंगलबजारमा रहेको मणिमण्डपमा रातो मछिन्द्रनाथलाई बुंगमती फर्काउन साइत हेरिनेछ। सम्भवत भाद्र २६ गते रातो मछिन्द्रनाथलाई खटमा राखेर बुंगमती फिर्ता लाने साइत निस्कने बताइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell