PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

नेपाल प्रहरीका दुई हजारभन्दा बढी कर्मचारीमा कोरोना, ९५० जना संक्रमणमुक्त



रासस

नेपाल प्रहरीका दुई हजारभन्दा बढी कर्मचारीमा कोरोना, ९५० जना संक्रमणमुक्त

काठमाडौं: नेपाल प्रहरीका दुई हजार एक सयभन्दा बढीमा कोभिड–१९ देखिएको छ।

गत जेठको पहिलो साता एक प्रहरीमा देखिएकामा गत साउनपछि भने सङ्क्रमण दर ह्वात्तै बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्राप्त विवरणअनुसार प्रहरीमा दुई हजार १६१ जना संक्रमितमध्ये ९५० जना निको भएर कार्य क्षेत्रमा फर्किसकेको प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिए।

काठमाडौँ उपत्यकाका तीन जिल्लामा सबैभन्दा बढी ६२४ सङ्क्रमित भएका छन्। त्यसमध्ये ५५८ जना अझै उपचाररत छन्। प्रहरी प्रधान कार्यालयमा मात्रै ३८९ सङ्क्रमित रहेको जनाइएको छ। त्यसमध्ये ३१८ जना उपचारपछि घर फर्किएको र ७१ को उपचार जारी छ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश १ मा ३४०, प्रदेश २ मा २५७, वाग्मती प्रदेशमा १००, गण्डकीमा १४३, प्रदेश ५ मा १९८, कर्णाली प्रदेशमा ७१ र सुदूरपश्चिम प्रदेशमा ३९ जनामा सङ्क्रमण देखिएको छ।

एसएसपी कडायतले संक्रमितमध्ये झण्डै आधा निको भएर काममा फर्किसकेको बताए। उनका अनुसार अहिले सबै उच्च मनोबलका साथ उपचार गराइरहेका छन्। सबैको अवस्था सामान्य रहेको कडायतको भनाइ छ।

सशस्त्र प्रहरी र नेपाली सेनासमेतमा पछिल्लो समयमा कोभिड–१९ सङ्क्रमण बढिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell