PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

उपत्यकामा बढ्दै कोरोना जोखिमः ललितपुरका सिडिओ भन्छन्, 'दशैंसम्म निषेधाज्ञा लगाऔं', काठमाडौंका सिडिओ सहजीकरणको पक्षमा



पहिलोपोस्ट

उपत्यकामा बढ्दै कोरोना जोखिमः ललितपुरका सिडिओ भन्छन्, 'दशैंसम्म निषेधाज्ञा लगाऔं', काठमाडौंका सिडिओ सहजीकरणको पक्षमा

काठमाडौं: काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार नाघेको छ। भदौ २१ गतेसम्म उपत्यकामा कूल ८ हजार २५४ जनामा संक्रमण पुष्टि भइसकेको छ। ललितपुरमा ९१९ जना र भक्तपुरमा ७११ जनामा संक्रमण देखियो छ। भदौ महिनामा मात्रै ६ हजार दुई सयभन्दा बढी संङ्क्रमित उपत्यकामा थपिएका छन्।

संक्रमण फैलिन सक्ने भन्दै उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा लागू गरेका छन्। भाद्र ३ गते रातिदेखि लागू गरिएको निषेधाज्ञा २४ गतेसम्म कायम छ। संक्रमण दर बढ्दै गएसँगै उपत्यकामा निषेधाज्ञा नै लागू गर्ने कि अरु नै विकल्प अपनाउने भन्ने बारेमा छलफल भइरहेको छ।

आइतबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा सिडिओहरु छलफलमा सहभागी समेत भए।

आ-आफ्ना मत

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना संक्रमण कहिलेसम्म रहने थाहा नभएको भन्दै अब ‘लिभिङ विथ कोरोना’ मोडालिटीमा जानुपर्ने बताएका छन्। दाहालले उपत्यकालाई ठप्पै पार्न सक्ने अवस्था नरहेको भन्दै अनावश्यक हिँडडुल कडाई गर्ने र सहजीकरण गर्नुपर्ने अवस्था आएको बताए।

उनले चाहेर पनि नचाहेर पनि प्रत्येक दिन २ हजार मानिस बाहिरबाट भित्र्याउनै पर्ने बाध्यता रहेको भन्दै सीमामा सेना परिचालन गर्नुपर्ने बताए।

‘आयातित उपभोग भएकोले यति मान्छे भित्रिनै पर्छ। न त्र काठमाडौंमा भोकमरी हुन्छ। काठमाडौंलाई ठप्प पार्न अलि गाह्रो हुने रहेछ। व्यवस्थापनका लागि सीमामा नेपाली सेनालाई परिचालन गरौं।’

 

सेना परिचालनका लागि सिसिएमसीमा प्रस्ताव पठाएको तर त्यहाँबाट त्यो प्रस्ताव के भयो भन्ने बारेमा आफूहरुलाई थाहा नभएको उनले बताए। उनले रोगले भन्दा भोकले मर्ने व्यवस्था आयो भन्ने गुनासो आएको भन्दै अब मोडालिटीलाई सहजीकरण गर्दै लैजानुपर्ने अवस्था आएको बताए।

दाहालले परिस्थितिको मूल्यांकन गर्दै सहजीकरण गर्नुपर्ने बताउँदा ललितपुरका प्रमुख जिल्ल अधिकारी नारायणप्रसाद भट्टले भने दशैंसम्म निषेधाज्ञा लागू गर्नुपर्ने बताए।

दाल तरकारी किन्न हिँड्नहरुमा पनि लापरवाही गर्ने संस्कृति रहेको भन्दै उनले अवस्थालाई भयावह नबनाउन दशैंसम्म निषेधाज्ञा लागू हुनुपर्ने बताए।

भने, ‘चाडबाड आउँदैछ। जात्रा पर्व भनेपछि ज्यान नै फाल्ने भावना हुँदो रहेछ। दशैं आउँदैछ, त्यसैले दशैंसम्म केही खुकुलो गरेर भए पनि यो स्थिति कायम राखनु पर्छ। नत्र दशैंमा घर जाने कता जाने भन्ने हुन्छ। ठूलाबडाको हातबाट टीका थाप्नुपर्छ, आशीर्वाद लिनुपर्छ भन्ने सेन्टिमेन्ट र इमोसन हुँदो रहेछ। यो अवस्थामा झन भयावह स्थिति हुनसक्छ। त्यसैले केही सहजीकरण गर्दै दशैंसम्म यसलाई निरन्तरता दिनुपर्छ।’

यता भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भने सबै निकायले आ-आफ्नो क्षेत्रबाट जिम्मेवार भएर काम गर्नुपर्ने बताइन्।

निर्णायक तहमा बस्नेहरुले नाकामा मान्छे ल्याउने गरेको भन्दै उनले भनिन्, ‘फोन गरेरै सहजीकरण गर्न भन्नुहुन्छ। व्यवहारिक रुपमा सहजीकरण गर्नुपर्ने आफ्नो ठाउँमा छ। तर त्यसले भोलि संक्रमण फैलाउन सक्छ। त्यसैले ल्याउने र बाहिर जानेहरुलाई योजना बनाएर कन्ट्याक्ट ट्रेसिङ गरेर मात्र ल्याउने हुनुपर्‍यो।’

नाकामा जति कडाइ गरे पनि मान्छे सीमामा आएर बस्दिने रात परेपछि उपत्यका प्रवेश गर्ने गरेको भन्दै भनिन्, ‘मान्छेलाई आउनै दिन्न भन्न मिल्दैन। यो राजधानी हो। तर उनीहरुलाई ल्याउँदा लैजाँदा जिम्मेवार भएर सबै रेकर्ड राखेर गर्‍यो भने संक्रमण नियन्त्रण गर्न सकिन्छ जस्तो लाग्छ।’

यस्तै उनले विषयगत निकाय जिम्मेवार हुनुपर्ने बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell