जनकपुरधाम : जनकपुर विकास समितिका अध्यक्ष जितेन्द्र पासवानले पछिल्लो समय प्रदेश २ मा बढ्दै गइरहेको दलितमाथिको अत्याचारप्रति सरकार गम्भीर नबनेको आरोप लगाएका छन्। कुनै पनि सरकार दलितहरुको अधिकारप्रति गम्भीर नहुँदा अत्याचार बढेको पासवानको आरोप छ।
उनले दलितहरुलाई भोट बैंकको रुपमा मात्रै प्रयोग गरिदै आएको भन्दै कुनै पनि सरकारले दलितहरुको जीवनस्तर उकास्न नसकेकोप्रति आक्रोश व्यक्त गरे।
उनले भने, ‘हामी अब सहन सक्दैनौँ, हामी कडा आन्दोलन गर्न बाध्य हुनेछौँ।’
दलितको नाउँमा राजनीति गर्ने दलित नेताहरुप्रति पनि पासवान आक्रोश व्यक्त गर्छन्। उनका अनुसार दलितका नेताहरु दलितको मत लिएर नेता बनेपनि सानोतनो लोभमा परेर आफ्नै समुदायको हीत बिर्सिने गरेको बताउँछन्। यो स्थितिमा सुधार ल्याउनका लागि प्रत्येक निकायमा दलितहरुको पहुँच बढाउनु आवश्यक रहेको उनले बताए।
अहिले पनि सरकार, प्रशासन नसच्चिए आन्दोलन गर्न बाध्य हुने उनले चेतावनी दिए।
प्रदेश नम्बर २ मा पछिल्लो समय लगातार दलितमाथि कुनै न कुनै रुपमा अत्याचार भएका घटनाहरु सार्वजनिक हुँदै आइरहेको छ। शम्भु सदा, राजु सदा, विजय राम लगायतको मृत्यु तथा हत्याका घटना यसका उदाहरण हुन्। लकडाउन अवधिमै प्रदेश २ मा ६ जना दलित यातनाको शिकार हुनु पयो। जसमध्ये रौतहटमा मात्र ३ वटा घटना भएका छन् भने धनुषामा २ र सप्तरीमा एउटा घटना भएको छ।
तर, तीमध्ये एउटा घटनाको पनि अनुसन्धान सकिएको छैन। कुनै पनि पीडित परिवारले न्याय पाउन नसकेको पासवान बताउँछन्। प्रदेश सरकारले प्रहरी र प्रशासन आफ्नो मातहत नरहेको बताउँदै घटनामा दोषीलाई कारबाही तथा पीडितलाई न्याय दिलाउन नसकेको भन्दै पन्छिन खोज्दा जनमानसमा आक्रोश बढ्दै गएको उनले बताए।
