PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

युक्रेनमाथि स्पेनको फराकिलो जित, जर्मनी फेरि बराबरीमै रोकियो



पहिलोपोस्ट

युक्रेनमाथि स्पेनको फराकिलो जित, जर्मनी फेरि बराबरीमै रोकियो

युइएफए नेशन्स कप अन्तर्गत गएराति भएको खेलमा समूह डी को खेलमा स्पेनले युक्रेनमाथि फराकिलो जित निकालेको छ। स्पेनको स्टेडियो अलफ्रेडो डी स्टेफानोमा भएको खेलमा स्पेनले ४-० को फराकिलो जित निकालेको हो।

स्पेनको जितमा सर्जियो रामोसले दोहोरो गोल गर्दा अंशु फाटी र फेर्रन टोरेसले समान १/१ गोल गरे। फाटीले गोल गरेसँगै ९५ वर्षपुरानो स्पेनको राष्ट्रिय कीर्तिमान तोडिदैँ सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी समेत बनेका छन्। उनले १७ वर्ष ३११ दिनको उमेरमा युक्रेनविरुद्ध गोल गरेका हुन्।

खेलको तेस्रो मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै रामोशले स्पेनलाई अग्रता दिलाएका थिए। त्यस्तै २९ औं मिनेटमा दोस्रो गोल पनि रामोशले नै गरेका थिए। त्यस्तै खेलको ३२ औं मिनेटमा फाटीले कीर्तिमानी गोल गर्दा पहिलो हाफमा स्पेन ३ गोलले अघि रह्यो। दोस्रो हाफमा टोरेसले स्पेनका लागि अर्को गोल थपे। उनले खेलको ८४ औं मिनेटमा गोल गरेका थिए।

त्यस्तै समूह डी कै अर्को खेलमा जर्मनी र स्वीजरल्याण्ड १-१ को बराबरीमा रोकिए। समुह चरणमा यो जर्मनीको दोस्रो बराबरी हो। खेलमा अग्रता जोगाउन नसक्दा जर्मनी घरेलु टोलीसँग बराबरीमा रोकिएको हो। जर्मनीका लागि खेलको १४ औं मिनेटमा आइल्के गुन्डोगनले गोल गरेका थिए भने स्वीजरल्याण्डका लागि सिल्भन विडमेरले ५७ औं मिनेटमा गोल गरेका थिए।

समूह डी मा जर्मनी, स्पेन, स्वीजरल्याण्ड र स्पेन छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell