धनगढी उपमहानगरपालिका ९ का श्यामबहादुर कठायत जेठ अन्तिममा नेपाल फर्किए, भारतको गुजरातबाट। त्यहाँ कोरोना भाइरसको संक्रमण चुलियो। त्रास बढ्यो। बिरानो सहरमा रोगसँग जुँध्नुको विकल्प देश फर्कनु मात्र थियो। सोचेका थिए – अब सानै सही देशमै केही गर्छु। पेट पाल्न पुगे विदेश फर्कन्न।
नेपालमा परिवार थियो। साथीभाइ थिए। खुशी हुने बहाना पाए। केही समय रमाएका पनि हुन्। आफ्नो ठाउँमा पनि रोगको त्रास नभएको कहाँ हो र? तर, रोगसँगभन्दा संघर्षपूर्ण रह्यो भोकसँगको लडाई।
आइतवार श्यामबहादुरलाई ‘वेलकम टू इन्डिया’ लेखिएको प्रवेशद्वारले स्वागत गर्यो। बाध्यताको झोला भिरेर फेरि होमिए कोरोना भाइरसको आहाल बनिरहेको भारततर्फ।
आइतबार बिहानै भारत जानका लागि गौरिफन्टा नाका खुल्ने प्रतीक्षामा थिए ५० जना भन्दा बढी नेपाली। त्यही समूहमा भेटिए २९ वर्षीय कठायत पनि। १९ वर्ष अघि पहिलो पटक भारत छिरेका उनका लागि यो यात्रा नौलो होइन। यो बाध्यता पनि नौलो होइन। देशमा रोजगारीका पहिले पनि थिएन। अहिले पनि छैन। अभावैले त हो १० वर्षको उमेरमा भारत धकेलेको। भारतको खटनको बानी परिसकेको छ। तर, रोगले मारे पनि परिवार सँगै हौं भन्ने उनको योजना तुहियो।
घरमा दुई नाबालक छोराछोरी, श्रीमती, आमा र बहिनी छन्। उनीहरू भोकाएको हेर्न सकेनन्। आँखै अगाडि बहिनी अनि सन्तानले पढाई पनि छाडेको हेर्न सक्ने आँट उनमा रहेनछ। परिवारप्रतिको जिम्मेवारी पूरा गर्नकै लागि कोरोना कहरकै बीच भारत पस्न लागेको बताउँछन् उनी।
‘स्वदेशै केही काम मिल्ने भए आमा, छोराछोरीसँगै बसेर रमाउने रहर त कसको हुन्न होला?’ उनी भन्छन्, ‘हामीलाई पनि रहर त थिएन यत्रो महामारीमा भारत जान, बाध्यताले नै हो फेरि उतै हिँडेको। गरिबका लागि त नेपालमा सरकार नै कहाँ छ र?’
भारतबाट फर्किएर धनगढीमा दुई महिनासम्म काम खोजे। केही पाएनन्। विकल्प रहेन।
उस्तै विवशताले थिचिएकी रहेछिन् कैलाली लम्की चुहा नगरपालिकाकी गोमा न्यौपाने। श्रीमान् र एक छोरालाई भारतमै छोडेर उनी पनि जेठ दोस्रो साता नेपाल फर्किएकी थिइन्। स्वदेशमा बस्ने वातावरण बनाउन सके परिवार यतै बोलाउने सोचेर आएकी थिइन्। तर, देशले आशा समेत दिएन।
‘अब त रोगसँग भन्दा भोकको बढी डर छ’, उनले भनिन्, ‘कोरोना लागेर पनि बाँचेपछि कमाएर खाउँला भन्ने लागेको थियो। तर बसेर मात्रै खाने गुजारा चल्दैन।’
गत भदौसम्म भारतबाट आउनेहरूको लर्को थियो सुदूरपश्चिमका नाकामा। अहिले फेरी भारत पस्नेहरूको उस्तै लर्को। आइतबार मात्रै गड्डचौकी र गौरिफन्टा नाकाबाट पाँच सय ४२ जना भारत पसेका छन्। नेपाल फर्किनेको सङ्ख्या भने ३ सय ८१ रहेको छ। त्यस अघि शनिवार कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट पाँच सय २१ जना भारत फर्किएका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले शनिवार गौरीफन्टाबाट चार सय ७१ र गड्डाचौकीबाट ५० जना गरी पाँच सय २१ जना भारततर्फ गएको बताए। नेपाल आउनेको सङ्ख्या भने शनिवार तीन सय ८० रहेको थियो।
कोरोना महामारीपछि स्वदेश फर्किएकाहरू रोगले भन्दा पनि भोकले मर्नुपर्ने अवस्था आएको भन्दै फेरी भारत जान थालेका हुन्। भारतीय एसएसबीले अहिले परिचयपत्र खुल्ने कार्डका आधारमा नेपालीहरूलाई सिमानाकाबाट प्रवेश दिइरहेको छ। कतिपय भने बिरामी भनेर वडाका जनप्रतिनिधिको सिफारिस बनाएर समेत भारत जाने गरेको छन्।
कहाँ अल्झियो प्रदेश सरकार?
गत फागुनमा भारतबाट घर फर्किएका डोटीको बोगटान फुड्सिल गाउँपालिकाका रामबहादुर साउँद पनि कोरोना महामारीकै बेला आइतबार भारत पसे। उनी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको निर्वाचन क्षेत्रका बासिन्दा हुन्।
मुख्यमन्त्री भट्टले आफ्नो पदभार ग्रहण गरेको दिन सुदूरपश्चिमेलीहरूको भारत जानुपर्ने बाध्यता आधा घटाउने र उनीहरूले सीमामा तथा भारतको रोजगारीका क्रममा भोग्नुपर्ने सास्ती अन्त्य गर्ने दाबी गरेका थिए। तर उनको त्यो कहिले कार्यान्वयन हुने हो उनैलाई समेत थाह छैन।
उनले गत चैत्रमा समेत भारतबाट आउनेहरूको स्थानीय तहले तथ्याङ्क सङ्कलन गरिरहेको र उनीहरूको सीपमा आधारित काम सरकारले दिने दाबी गरेका थिए। तर उनकै निर्वाचन क्षेत्रका साउँद जस्ता कयौँ युवाहरूलाई भने अब उनका यी झुटा आश्वासन पत्याउन छोडिसके। पत्याउन पनि कसरी उनले भने अनुरूप नत भारतबाट आउनेहरूको आवतजावतमा उचित व्यवस्थापन हुन सकेको छ न भारत जानुपर्ने क्रम आधाले रोक्न सक्ने वातावरण बनेको छ।
भारत पस्ने क्रममै गौरिफन्टा नाकामा भेटिएका कैलालीको गौरिगंगा नगरपालिकाका लालसिंह भुल भन्छन्, ‘मुम्बई बस्न थालेको साढे दुई दशक बितिसक्यो, सरकारले स्वदेशमा रोजगारी दिने भनेर त भन्यो तर केही दिन सकेन। आफ्नो माटोमा कमाइ गरी खानलाई पनि आफूसँग जग्गा जमिन छैन। त्यसैले मुम्बई जानुपर्ने बाध्यता छ।’
भारतमा कति सुदूर पश्चिमेली बस्छन् भनेर समेत सरकारसँग तथ्याङ्क छैन। अझ अहिले आएकाहरूको समेत भारत पस्न थालेपछि दीर्घकालका लागि भनेर तथ्याङ्क सङ्कलनमा चासो दिइएको छैन।