अस्ट्रेलियामाथि लगातार दोस्रो जित निकाल्दै इङ्ग्ल्याण्डले ३ खेलको टी २० सिरिजमा जित पक्का गरेको छ। गएराति भएको सिरिजको दोस्रो खेलमा अस्ट्रेलियालाई ६ विकेटले हराउँदै इङ्ग्ल्याण्डले सिरिजमा जित पक्का गरेको हो।
टस जितेर ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रन बनाएको थियो। जसका लागि कप्तान आरोन फिन्सले सर्वाधिक ४० रन बनाउँदा मार्कस स्टोइनिसले ३५, ग्लेन म्याक्सवेलले २६ तथा एस्टोन एगरले २३ रन बनाएका थिए। त्यस्तै प्याटकमिङसले अभिजित १३ रन तथा स्टेभिन स्मीथले १० रन जोडे। इङ्ग्ल्याण्डका लागि क्रिस जोर्डनले २ विकेट लिँदा अदिल राशिद, मार्क उड र जोफ्रा आर्चरले १/१ विकेट लिए।
जवाफी ब्याटीङमा उत्रिएको इङ्ग्ल्याण्डले १८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। जसका लागि जोस बट्लरले सर्वाधिक अभिजित ७७ रन बनाउँदा डेविड मलानले ४४ रनको महत्वपूर्ण योगदान दिए। त्यस्तै मोइन अली १३ रनमा अभिजित रहे।
यो सँगै इङ्ग्ल्याण्ड सिरिजमा २-० ले अघि छ। यसअघिको खेलमा इङ्ग्ल्याण्डले अस्ट्रेलियामाथि २ रनको रोमाञ्चक जित निकालेको थियो।।
