काठमाडौं : छिमेकी मुलुक भारतको कोभिड १९ को खराब यात्रामा थप अग्रता कायम भएको छ। दैनिक ९० हजारको हाराहारीमा कोरोना भाइरसका संक्रमित भेटिन थालेको भारत विश्वका खराब अवस्था झेलिरहेका मुलुकको सूचीमा दोस्रो स्थानमा उक्लेको छ।
ब्राजिललाई पछि पार्दै भारत धेरै संक्रमित हुने मुलुकको सूचीमा एक कदम माथि आएको हो। पहिलो स्थानमा अमेरिका छ भने ब्राजिल तेस्रो स्थानमा। चौथो स्थानमा रहेको रसिया ब्राजिलभन्दा ३० लाख कम संक्रमित भएको मुलुक हो। कुनै समय रसिया र भारतमा संक्रमितको संख्या बराबरमै थियो।
सबैभन्दा खराब अवस्थामा पुगेका तीन मुलुक संयुक्त राज्य अमेरिका, भारत र ब्राजिलमा यस रोगका विषयलाई लिएर केही समान प्रवृत्तिहरु देखिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चिनियाँ भाइरस भन्दै चीनको आलोचनामा उत्रिँदा मास्क लगाउनेकै विरोध गरिरहेका थिए। उनले लकडाउनको विरोधमा अभिव्यक्ति दिइरहेका थिए सुरुका दिनमा।
ब्राजिलको पनि हाल उस्तै थियो। त्यहाँ पनि कोरोना भाइरसलाई लिएर सरकारले चासो दिएन। विश्वभर कोरोनाको कहर मच्चिँदै लकडाउन भइरहँदा ब्राजिलमा भने फुटबल प्रतियोगिताहरु जारी थियो। धेरै संख्यामा दर्शकहरु रंगशालामा उपस्थित भएर फुटबलको मजा लिइरहेका थिए। त्यसले ब्राजिललाई संक्रमणको जोखिममा ह्वात्तै पुर्याएको थियो।
यता भारतमा सावधानी अपानाउने नाममा प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दुत्वको 'व्यापार' गर्नेक्रम जारी राखे। मानिसहरुलाई दियो बालेर कोरोना लखेट्न आह्वानमात्र गरेनन् उनले थाल ठटाएर त्यसलाई भगाउन पनि भने। उनको आह्वानलाई साथ दिँदै मानिसहरुले सडकमा उत्रिएर जुलुस निकालेरै थाल ठटाए। सुरुका दिनमा भारत सरकारको जुन नीति लियो, त्यसको परिणाम अहिले देखिएको छ।
सबैभन्दा धेरै खराब अवस्था भएको मुलुक अमेरिका ६४ लाख ६० हजार भन्दा धेरै मानिस संक्रमित छन्। दोस्रो स्थानमा उक्लिएको भारतमा यो संख्या ४२ लाख २ हजार रहेको छ। तेस्रो स्थानमा रहेको ब्राजिलमा ४१ लाख ३७ हजार संक्रमित छन्। चौथो स्थानमा रहेको रसियामा संक्रमितको संख्या १० लाख २५ हजार रहेको छ।
