काठमाडौं : प्रत्येक वर्ष हुँदै आएको रातो मछिन्द्रनाथको रथयात्रा यस वर्ष भने निकै विवादमा तानियो। विवाद सामान्य रुपमा टुङ्गिएन पनि। झडपदेखि मानिस पिट्नेसम्मका गतिविधि भए। त्यसकोको असर अहिले पनि ललितपुरको केही स्थानमा पाँच जना भन्दा बढी भेला हुन निषेध छ।
गत बिहीवार भएको झडपमा अनपेक्षित गतिविधि भए। ड्युटीमा खटिएका ट्राफिकमाथि आक्रमण भयो। भिडका केही उत्तेजित युवाले प्रहरी जवान कमल प्रसाद घिमिरेमाथि निर्मतापूर्वक आक्रमण गरेका थिए। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले प्रहरीमाथि कुटपिट गर्नेलाई खोजी गर्यो। बिहीवार राति नै १० जनालाई पक्राउ गर्न सफल भयो। त्यसपछि थप केही समातिए।
'केहीलाई समातिसकेका छौं। केही खोजी हुँदैछ,' परिसरका एसएसपी टेकप्रसाद राईले भने।
त्यस्तै, त्यही दिन एउटा भिडियो समाजिक सञ्जालमा भाइरल भयो। रथ तान्ने क्रममा पुल्चोकमा भएको झडपमा एक युवक हातमा क्यामरा लिएर प्रहरी माथि ढुंगा हानिरहेका थिए। त्यसो त ढुंगा हान्ने अरु बीचमा उनी नै भाइरल हुनमा फरक उनले लगाएको ज्याकेट थियो। ज्याकेट प्रेसको थियो। पत्रकारले आन्दोलमा गएर प्रहरी माथि ढुंगा हान्नु स्वभाविक थिएन। त्यसैले उनी प्रहरीको आँखामा परे।
त्यसो त संचार क्षेत्रबाट पनि ती युवकलाई कारबाही हुनेपर्ने माग उठ्यो। प्रहरी खोजीमा लाग्यो। महानगरीय अपराध महाशाखाको टोलीले शुक्रवार ती युवकलाई पक्राउ गर्न सफल भयो। उनी थिए ललितपुरको महालक्ष्मी नगरपालिका बस्ने २२ वर्षीय अनिश महर्जन। हातमा क्यामरा र प्रेस लेखेको ज्याकेट लगाएका उनी कुनै पनि पत्रकार ठहरिएनन्।
'उ कुनै पनि पत्रकार पनि भएको पाइएन। विभिन्न युट्युब च्यानलमा भिडियो हाल्ने गरेको पाइयो,' महाशाखाका एसएसपी दीपक थापाले भने।
बिहीवार भएको झडपमा अपराधिक गतिविधि गर्ने समातिने क्रम आइतवार पनि जारी रह्यो। ललितपुर महानगरपालिकाका मेयरको घाँटी रेटिदिन्छु भन्दै अन्तर्वार्ता दिने व्यक्तिलाई प्रहरीले पक्राउ गर्यो। ललितपुर-१३ कुसुन्ती बस्ने ४३ वर्षीय संजय शाक्य समातिए।
ललितपुर पुल्चोकमा रथ तान्ने क्रममा भएको झडपमा ढुङ्गामुढा गर्ने, भिडलाई उत्तेजित गराएको तथा मेयरको घाँटी रेटिदिन्छु भनी सार्वजनिक रुपमा अन्तर्वार्ता दिएको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको ।
खोजतलास गर्ने क्रममा आइतवार ललितपुरको कुसुन्तीबाट उनलाई पक्राउ गरी आवश्यक कारबाहीको लागी महाशाखाले महानगरीय प्रहरी परिसर ललितपुर पठाएको छ। अहिलेसम्म प्रहरीले २० जनालाई पक्राउ गरेको छ। जसमा ३ जनालाई छोडीसकेको छ भने १७ जना बिरुद्ध अनुसन्धानको लागि म्याद थप गरि अनुसन्धान भइरहेको छ।
