PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

लेलेको जंगलमा महिलाको शव : खलकभित्रकै युवकसँगको 'विशेष सम्बन्ध' बन्यो हत्याको कारण



सविन ढकाल

लेलेको जंगलमा महिलाको शव : खलकभित्रकै युवकसँगको 'विशेष सम्बन्ध' बन्यो हत्याको कारण

काठमाडौं : गत शुक्रवार गोदावरी नगरपालिका-१० को मुलडोलस्थित लेलेको जंगलमा फेला परेको शव हत्या गरी फ्यालिएको निष्कर्षमा प्रहरी पुगेको छ। शुक्रवार महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी वृत्त चापागाउँको प्रहरी टोलीले लेलेको जंगलमा अस्पतालकी ३९ वर्षीया कर्मचारी गीता केसीको शव भेटेको थियो।

तीन दिनदेखि हराइरहेको उजुरी परेपछि खोजीमा लागेको प्रहरी टोलीले शव लेलेको जंगलमा फेला परेको थियो। घटनाको अनुसन्धानमा सहयोग गर्न नेपाल प्रहरीको केन्द्रीय कुकुर तालिम केन्द्रबाट तालिम प्राप्त कुकुर समेत मगाएर अनुसन्धान गरिएको थियो।

प्रहरीले शव भेटपछि अनुसन्धानमा गर्दै जाँदा महिलाको हत्या अभियोगमा आफ्नै नाता पर्ने ४१ वर्षीय निर्मल केसीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। केसीले प्रहरीसँगको बयानमा हत्या गरेको स्वीकारेको प्रहरीको दावी छ।

'अहिलेसम्मको प्रारम्भिक अनुसन्धानले हत्या गरेको देखिन्छ। केही अनुसन्धानको कोणले केसीतिर संकेत गरेपछि नियन्त्रणमा लिएका हौं,' महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले भने।

ललितपुर चाल्नाखेल घर भएकी गीता हराएपछि परिवारले प्रहरीमा उजुरी दिएका थिए। अस्पताल जान भनेर उनी भदौ १७ गते बिहान करिव साढे ७ बजेतिर निस्किएकी थिइन्। राति अबेरसम्म पनि उनी घर नआएपछि उनका श्रीमान र अभियुक्त निर्मल केसीले प्रहरीमा जानकारी दिएका थिए।

'राति जानकारी आएको थियो। हामीले राति खोजी गर्न सर्कुलर जारी गरेका थियौं। भोलिपल्ट उहाँहरुको लिखित उजुरी आएको हो,' एसएसपी राईले भने।

प्रहरीले नियन्त्रणमा लिएका व्यक्ति तीन पुस्ते भित्रका परिवारिक नाता पर्ने हुन्। प्रहरीसँगको बयानबाट उनको गीतासँग विशेष सम्बन्ध रहेको खुलेको छ। अभियुक्तले करिब ३ वर्षदेखि उनीहरु बीच सम्बन्धमा रहेको बयान दिएका छन् ।

उनीहरु दिउँसो करिब १२ बजेतिर लेलेको जंगलमा पुगेका थिए। निर्मलले नै महिलालाई घुम्न जाने प्रस्ताव राखेर मोटरसाइकलमा जंगल पुर्‍याएका थिए।

'उनीहरुले घुम्न भन्दै गएका थिए। झोलामा दुई प्याकेट चाउचाउ समेत भेटिएको छ,' महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी कृष्णराजा ओझाले भने।

हत्या साँझतिर भएको खुलेको छ। हत्याको कारण भने अझै प्रस्ट भइसकेको छैन। पक्राउ परेका अभियुक्तले यस विषयमा खुलेर कुरा गरेका छैनन्। प्रहरीले उनको बयान, प्रमाण र घटनाक्रमलाई 'म्याच' गराइरहेको छ। गीताले आफूलाई तनाव भएको भन्दै घर जान नमानेर विवाद भएपछि हत्या गरेको निर्मलले प्रहरीमा बयान दिएका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानमा महिलाले पटकपटक विवाह तथा भगाएर लैजान दवाब दिने गरेको खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell