काठमाडौं : साउनको अन्तिम साता नेपाली फुटबल टोलीको अभ्यास सुरु हुने तयारी थियो। विश्वकप र एसिया कपको छनोटका लागि खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बोलाइसकेको थियो। अभ्यास अघि खेलाडीको कोरोना परीक्षण पनि गरियो जसमा एरिक विष्टको पोजेटिभ देखियो।
चार महिना लामो लकडाउन सकिएपछि अस्ट्रेलिया र चाइनिज ताइपेइविरुद्धका प्रतियोगिताको तयारी गर्नु थियो। मैदानमा उत्रने तयारी गरिरहेका विष्टमा कोरोना संक्रमण पुष्टि भयो। पहिलो रिपोर्ट शंकास्पद भएपछि उनको परीक्षण दोहर्याएर पनि गरियो। रिपोर्ट आयो पोजेटिभ नै। अनि उनी बसे, होम आइसोलेसन।
संक्रमणपछि होम आइसोलेसनमा बसेका एरिकलाई ‘कोरोना काल’ले जीवनमा धेरै कुरा सिकायो, समाजले पनि। अझ नजिककै साथीभाइहरुले सिकाए।
शरीरमा एकातिर कोरोना संक्रमणले शिकार गरेको थियो भने अर्कोतिर मानसिक रुपमा पनि ‘छुद्र सोच’ को आक्रमण सहनुपर्यो उनले।
कोरोनाको सामान्य लक्षणसमेत नदेखिएका एरिकले बुधवार कोरोना संक्रमणबाट मुक्त भएसँगै आफूले भोगेको तीतो अनुभव सामाजिक सञ्जालमा पोखे। हुन पनि कोरोना उनले आफैले आफैलाई लगाएका थिएनन्। यो जसलाई पनि हुन सक्थ्यो। दुर्भाग्यवस उनलाई भयो। तर, उनीबाट संक्रमण उनको परिवारमा फैलिन पाएन। आइसोलेसनमा बसेका उनलाई कोरोना भन्दा सामाजिक व्यवाहारले भने नमीठो गरी घोच्यो।
‘एकपटक सङ्क्रमण भइसकेपछि समाजको हेर्ने नजर नै फेरिने रहेछ। रोग लागेर पो म आइसोलेट भएको हो त। चोरी फटाइ गरेर लुकेको त हैन नि,’ एरिकले पहिलोपोस्टसँग भने, ‘समाजको व्यवहार एक्कासी परिवर्तन हुनेरहेछ। यसलाई कोरोना लागेको छ, 'नबोल है, नछो है' भन्ने भावमा हातले घरमा पोइन्ट गरेर मान्छेहरु कुरा गरिरहेका हुन्थे।’
१९ दिन आइसोलेनसमा बसेका उनले एन्फाबाट गरेको परीक्षणमा नतिजा पोजेटिभ आएपछि ह्याम्समा गएर फेरि परीक्षण गराएका थिए। त्यहाँ पनि पोजेटिभ नै आयो। त्यसपछि उनले अघिल्लो शुक्रवार टेकुमा कोरोना परीक्षण गराए। ‘नेगेटिभ’ भनेर बुधवार नतिजा आयो।
एरिक ‘कोरोना काल’मा सामाजिक विभेद भोग्ने एउटा प्रतिनिधि पात्र मात्र हुन्। यसअघि पनि यस्ता नमीठा अनुभव नेपालमा अरुले पनि गरिसकेका छन्। अझ कोरोनाविरुद्ध फ्रन्टलाइनमै जुधिरहेका डाक्टर नर्सले समेत।
काठमाडौंको बानेश्वरमै होस्टेलमा स्वास्थ्यकर्मी राखेको भन्दै विवाद निस्किएको थियो। सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि सबै पक्षबीच पछि मेलमिलाप भयो। त्यस्तै, रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट विश्वबन्धु बगालेको घरमा त कोरोना संक्रमितको घर भनेर ब्यानरै टाँस्न मानिसहरु पुगेका थिए।
यी र यस्तै घटनाक्रमहरु दिनबिराउँदै आइरहेका छन्। अझ कोरोना संक्रमण ठीक भएर घर जाँदासमेत समाजले बाधा गरेको समेत घटना बाहिर आइसकेको छ। यसले हाम्रो सामाजिक चिन्तन र दर्साउँछ।
सबैलाई डर छ, कोरोनाको। साथसाथै सबैलाई थाहा पनि छ कि कसैले जानाजान आफूलाई संक्रमित बनाएको होइन भनेर। तर कोरोना संक्रमित भएर आइसोलेसनमा गएको होस् या ठीक भइसकेको नै किन नहोस, उनीहरुलाई हेर्ने हाम्रो नजर अलि अर्कै भइदिन्छ।
आफ्नो सुरक्षामा चासो दिनु राम्रो विषय हो तर दोस्रो व्यक्तिलाई गरिने व्यवाहार त ‘छुद्र’ बनाउनु कहाँको उचित? त्यही छुद्रताले नै आउने दिनमा घृणा बढाउन सहयोग गर्छ।
कोरोना संक्रमितप्रतिको यस्तो ‘स्टिग्मा’ लाई एउटा कारक मान्छन् द स्कुल अफ साइकोलोजीका अध्यक्षसमेत रहेका डा नरेन्द्र ठगुन्ना। यस किसिमको व्यवहारमा कोरोनासँग जुधिरहेको भिडको मनोविज्ञानले प्रभाव पारेको डाक्टर ठगुन्नाको तर्क छ।
‘भिडको मनोविज्ञानमा पूर्वाग्रह, विभेदजस्ता कुराहरु एकदुई जनाले गरे अरुले ‘हो मा हैसे’ मिलाउने हुन्छ,’ डाक्टर ठगुन्नाले भने, ‘भिडमा फ्याक्ट खोजिँदैन, एउटाले जे भन्छ त्यसको पछि कुद्ने प्रवृत्ति हुन्छ। र, त्यसले नै हाम्रो विचारहरुलाई फाइनल गर्छ।’
कोरोनाप्रतिको यस्तो ‘स्टिग्मा’ नेपालमा मात्र नभएर संसारभरी रहेको उनको बुझाई छ। त्यसकै उपज हो यस्तो, असह्य माहोल।
‘स्टिग्मा’ (लाञ्छन) र ‘डिस्क्रिमिनेसन’ (विभेद) यी दुई शब्दहरुको प्रयोग यो सन्दर्भमा हाल विश्वभर प्रयोगमा रहेको बताउँदै ठगुन्ना यसका कारण नकारात्मक व्यवाहार उत्पन्न हुने बताउँछन्।
‘पहिलो यो जनचेतनाको अभावका कारण हुनेगर्छ। दोस्रो महत्वपूर्ण कुरा चाहिँ आफूलाई पनि कोरोना सर्छ कि डर हुन्छ,’ उनले भने, ‘आफूलाई पनि कोरोना भइ पो हाल्छ कि भन्ने भयले दबाइएका भावहरुले चाहिँ त्यस्तो व्यवाहार गराउन बाध्य बनाउँछ।’
उनको अनुभवमा असुरक्षाको भय वा एन्जाइटिका कारण आफू पनि चिन्तित रहेको र टोलमा कसैलाई भइ गयो भने मलाई पनि भइहाल्ला कि भन्ने मनोदशाले त्यस्तो क्रियाकलापका लागि प्रेरित गरेको हुनसक्छ।
‘त्यो कमजोर मनोदशाका कारण कोरोनाबाट बच्नका लागि पनि अन्जानबस कहिलेकाहीँ आफ्नो ध्येय नभए पनि अर्कोले गरेको देखेर थाहा हुँदाहुँदै त्यस्तो गर्ने होकि जस्तो देखिन्छ,’ उनले भने, ‘भिडको मनोविज्ञानको एउटा विशेषता के हुन्छ भने उसलाई फ्याक्टसँग मतलब नै हुँदैन।’
यस्तो अवस्थामा भिडको मनोविज्ञान बुझ्नुपर्छ। ‘सुझाव ग्रहणशीलता भएका मानिसहरु हुन्छन् समाजमा। आत्मविश्वास कम भएका मानिसहरुमा सुझाव ग्रहणशीलता धेरै हुन्छ। जस्तो म तपाईँले भनेको कुरा मान्छु र तपाईँले यो मान्छे खराब हो भनिदिनु भयो भने म आँखा चिम्लिएर त्यो कुरामा विश्वास गर्छु,’ उनले उदाहरण पेश गरे।
यस्तो सन्दर्भमा अरुको विचारमा छिटै प्रभावित हुने र फलानोले भन्दैछ भने ‘ठीकै भन्दै होला’ भन्ने प्रवृत्तिले पनि यसप्रकारको घृणाको माहोल उत्पन्न गराएको उनको तर्क छ।
पछिल्लो समय आएका यो ट्रेन्डले कोरोना लाग्ला वा स्वास्थ्यमा के होला? भन्ने भन्दा पनि कोरोना लागिहाले समाजले पो के भन्ला कि भन्ने भय उत्पन्न भएको छ। संक्रमितलाई मात्र होइन, संक्रमितको घरका मानिसहरु पनि यस्तै भयको शिकार हुन सक्छन्।