काठमाडौं : पछिल्लो सात दिनमा नेपालमा साढे सात हजार बढी कोभिड-१९ का संक्रमित पहिचान भएका छन्।
भदौ १५ देखि भदौ २१ गतेसम्म नेपालमा कोभिड-१९ संक्रमण पुष्टि हुनेको संख्या सात हजार ६९६ छ। जुन अघिल्लो साताभन्दा एक हजार ७० ले बढी हो। भदौ ८ देखि भदौ १४ सम्म नेपालमा ६ हजार ६२६ संक्रमित पहिचान भएका थिए।
यो सात दिनमा नेपालमा संक्रमण पुष्टि हुने र मृत्यु पुष्टि हुनेको रेकर्डमेत कायम गर्यो। भदौ १९ गते हालसम्मकै सबै भन्दा बढी संक्रमित पहिचान भए। त्यस दिन एक हजार ३५९ जनामा संक्रमण पुष्टि भयो। सोही दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ जनाको मृत्यु समेत पुष्टि गर्यो।
भदौ १५ गते ८८४ जनामा संक्रमण पुष्टि भएकोमा त्यस पछिका पाँच दिन दैनिक एक हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ। २१ गते ९८० जना संक्रमित पहिचान भएका थिए।
यी हुन संक्रिय संक्रमित बढी रहेका २१ जिल्ला
नेपालमा कुल संक्रमितको १४.३१ प्रतिशत काठमाडौं जिल्लामा मात्र पुष्टि भएका छन्। हाल सबैभन्दा बढी संक्रिय संक्रमित रहेको जिल्ला र सबैभन्दा बढी संक्रमित पहिचान भएको जिल्ला पनि काठमाडौं नै हो। काठमाडौंमा ६ हजार ६२४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएकोमा चार हजार ६१५ जना उपचारकै क्रममा छन्।
हाल २१ जिल्लामा २०० बढी सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन्। पाँच सय बढी संक्रिय संक्रमित १३ जिल्लामा छन्। काठमाडौंसहित भक्तपुर, रौतहट, सर्लाही,चितवन, रुपन्देही, पर्सा, मोरङ, सुनसरी, ललितपु, बारा, धनुषा र भक्तपुर गरी १३ जिल्लामा ५०० बढी सक्रिय संक्रमित छन्।
एक हजार बढी संक्रमण पुष्टि भएका जिल्ला १७
हाल संक्रमण पुष्टि भएकामध्ये एक हजार बढी संक्रमित पहिचान भएका जिल्लाहरु १७ पुगेका छन्। काठमाडौं संक्रमितको संख्या साढे ६ हजार कट्दा पर्सा र सर्लाहीमा दुई हजार बढीमा संक्रमण पुष्टि भएको छ।
त्यस्तै रौतहट, मोरङ, धनुषा र कैलालीमा १५ सय बढीमा संक्रमण पुष्टि भएको छ। त्यस्तै महोत्तरी, रुपन्देही, बाँके, कपिलवस्तु, बारा, दैलेख, चितवन, सुनसरी र, डोटीमा एक हजार बढीमा संक्रमण पुष्टि भएको छ।
संक्रमितको जिल्लागत विवरण
२१ गते (आइतवार)सम्मको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार नेपालमा ४६ हजार २५७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये २८ हजार ९४१ जना निको भइसकेका छन्। जुन कुल संक्रमितको ६२.६ प्रतिशत हो।
त्यस्तै २८९ जनाको मृत्यु पुष्टि भइसकेको छ। जुन कुल संक्रमितको ०.६ प्रतिशत हो। संक्रमण पुष्टि भएकामध्ये २३.३ प्रतिशत महिला र ७६.७ प्रतिशत पुरुष छन्।
सबैभन्दा बढी संक्रमित प्रदेश २ मा छन्। प्रदेश २ मा १२ हजार २५९ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये १५.६ प्रतिशत महिला र ८४.४ प्रतिशत पुरुष रहेका छन्।
१० हजार ९४८ जनामा संक्रमण पुष्टि भएको बागमतीमा संक्रमितमध्ये ३४.५ प्रतिशत महिला रहेका छन्। ६५.५ प्रतिशत पुरुष रहेका छन्। त्यस्तै सात हजार २७९ जना संक्रमित पहिचान भएको प्रदेश ५ मा १९.५ प्रतिशत महिला र ८०.५ प्रतिशत पुरुष रहेका छन्।
६ हजार २४४ संक्रमित पहिचान भएको सुदुरपश्चिममा २६ प्रतिशत महिला र ७४ प्रतिशत पुरुष रहेका छन्। चार हजार १०१ संक्रमित पुष्टि भएको प्रदेश १ मा २६.३ प्रतिशत महिला र ७३.७ प्रतिशत पुरुष संक्रमित छन्।
गण्डकी प्रदेशमा संक्रमण पुष्टि हुनेको संख्या २ हजार ७२३ छ। यहाँ संक्रमण पुष्टि भएकामध्ये १९.५ प्रतिशत महिला र ८०.५ प्रतिशत पुरुष रहेका छन्।
सबैभन्दा कम संक्रमण भएको प्रदेश हो कर्णाली। २ हजार ७०३ जनामा संक्रमण पुष्टि भएको कर्णाली प्रदेशका संक्रमितमध्ये १५.८ प्रतिशत महिला र ८४.२ प्रतिशत पुरुष संक्रमित छन्।