PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कतार एयरको लापरवाही: पीसीआर रिपोर्ट नभएका ६ यात्रु काठमाडौं ओर्लिए, २२७ यात्रुलाई होटल क्वारेन्टाइन लगियो



विधुर ढकाल

कतार एयरको लापरवाही: पीसीआर रिपोर्ट नभएका ६ यात्रु काठमाडौं ओर्लिए, २२७ यात्रुलाई होटल क्वारेन्टाइन लगियो
फाइल फोटो

काठमाडौं : सरकारले नियमित अन्तर्राष्ट्रिय उडान खुला गरेसँगै विदेशमा अलपत्र नेपाली नेपाल फर्किन थालेका छन्। हवाई उडान सुरु गरेको संस्कृति पर्यटन तथा नगरिक उड्डयन मन्त्रालयले हवाई उडान सञ्चालनका लागि हवाई सेवा कम्पनीले पालना गर्नुपर्ने १२ शर्तहरु राखेको छ।

१२ शर्त मध्ये पहिलो शर्त नै उडान हुनु ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट भएका यात्रुहरु मात्र ल्याउन पाइने हो। वायु सेवा कम्पनीले पीसीआर नेगेटिभ रिपोर्ट भएको सुनिश्चितता गरी मात्र बोर्डिङ पास उपलब्ध गराउनुपर्ने छ।

तर, सोमवार कतारबाट आएको कतार एयरवेजले कोभिड-१९ को पीसीआर परीक्षण नगरेका यात्रुलाई काठमाडौंमा ओरालेको छ। बिहान ८:२३ बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानमा ६ जना यात्रुसँग पीसीआर नेगेटिभ रिपोर्ट नभएको विमानस्थल स्रोतले जनाएको छ।

सरकारतले नियमित उडान सञ्चालनका लागि अगाडि राखेको शर्तमा भनिएको छ- 'नियमित उडानमार्फत् आउने सबै यात्रुले जहाज चढ्नुभन्दा ७२ घण्टाभित्रको आरटी-पीसीआर नेगेटिभ भएको प्रमाण र कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको वेबसाइटमा अनलाइन फर्म भरेर सोको बारकोड वा प्रिन्टकपी साथमा लिइ आउनुपर्ने छ। कुनै कारणवश त्यस्तो फर्म भर्न छुट भएको रहेछ भने सम्बन्धी वायु सेवाले अनबोर्ड गर्दाकै अवस्थामा त्यस्तो फारम यात्रुलाई उपलब्ध गराउनुपर्ने छ।'

पीसीआर नेगेटिभ रिपोर्ट भए पनि उनीहरुले नेपाल आउनु अगाडि नै सीसीएमसीको अनलाइनमार्फत नेपाल फर्किन लागेको भन्दै रिपोर्टसहितको आवेदन भरेर 'हेल्थ कोड' लिनुपर्ने छ। अथवा आवेदन फर्म भरेर अवतरण गरेसँगै अधिकारीहरुलाई बुझाउनुपर्ने छ।

यसरी आएका यात्रुलाई सरकारले १४ दिन होम क्वारेन्टाइनमा पठाउँदै आएको छ। तर, कतार एयरले नेपाल ल्याएकामध्ये १२ जना केही आरडीटी मात्र गरेका र केहीले रिपोर्टको फर्म्याट नमिलेका भएको विमानस्थल स्रोतले भनेको छ।

यसरी एउटै उडानमा आरटी-पीसीआर टेस्ट गरेका र नगरेका यात्रुहरु मिसाएर ल्याउन नपाइने शर्त मन्त्रालयले विमान कम्पनीलाई दिएको छ। यसरी कुनै कम्पनीले मिसाएर ल्याएको पाइए उक्त कम्पनीले नै आफ्नो खर्चमा उडानबाट आएका सबै यात्रुलाई सात दिन होटल क्वारेन्टाइनमा अनिवार्य राख्नुपर्ने हुन्छ। सरकारले नै होटल क्वारेन्टाइनका लागि होटलहरु सूचीकृत गरेको छ।

विमानमा रहेका यात्रुलाई हाल नेपाली सेनाले होटल क्वारेन्टाइनमा व्यवस्थापन गरिरहेको नेपाली सेनाका प्रवक्ता बिर्गेडियर जनलर सन्तोष बल्लभ पौड्यालले जानकारी दिए। 'नेपाल सरकारको मापदण्ड पूरा नगरेका यात्रुलाई पनि ल्याएको कारण उनीहरुको ब्यवस्थापन होटल क्वारेन्टाइनमा गरिने छ,' उनले भने, 'मापदण्ड अनुसार पीसीआर नेगेटिभ रिपोर्ट भएका र नभएकालाई मिसाएर ल्याए विमान कम्पनीकै खर्चमा सबै यात्रुलाई होटल क्वारेन्टाइनमा राख्नुपर्छ। सोही अनुसार विमान कम्पनीले कुन होटल बुक गर्छ हामीले सोही आधारमा व्यवस्थापन गर्छौं।'  विमानमा आएका २२७ यात्रुमध्ये ६ जनासँग पीसीआर नेगेटिभ रिपोर्ट नभएको प्रवक्ता पौड्यालले जानकारी दिए।

होटल क्वारेन्टाइनमा राखिएका हरुको पीसीआर परीक्षणपछि रिपोर्ट नेगेटिभ आए होम क्वारेन्टाइनमा पठाइने उनले जानकारी दिए।

कतार एयरका प्रतिनिधिहरुले भने काठमाडौं आएका सबै यात्रुको पीसीआर रिपोर्ट नेगेटिभ भएको दाबी गरेका थिए। 'उहाँहरुलाई रिपोर्ट प्रोड्युस गर्नका लागि डेढ घण्टाको समय दिइएको थियो। उहाँहरुले नेगेटिभ रिपोर्ट पेस गर्न सक्नु भएन,' प्रवक्ता पौड्यालले भने, 'सबै यात्रुलाई होटल क्वारेन्टाइनमा राख्ने निर्णय भएको छ। सोही अनुसार ब्यवस्थापन हुँदै छ।'

यसअघि पनि भदौ १८ गते नेपाल एयरलाइन्सले जापानको नारिताबाट यात्रु लिएर आउँदा एक जनाको पीसीआर नेगेटिभ रिपोर्ट नभएका कारण सबै यात्रुलाई होटल क्वारेन्टाइनमा राखेको थियो। यसरी राखिएका यात्रुको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्टाइनका लागि पठाइएको छ।

सम्बन्धित समाचार:

नेपाल एयरलाइन्सको एउटा गम्भिर भूल जसले पुर्‍यायो २ सय ११ जना कोभिड-१९ नेगेटिभ भएकालाई क्वारेन्टाइन

यसरी आरटी-पीसीआर परीक्षण नगराएका, आरटी-पीसीआर पोजेटिभ भएका वा नेपाल सरकारले जारी गरेका अन्य शर्त वा आदेश पूरा नगरे वायु सेवा संस्थालाई प्रचलित कानुन बमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कारवाही गर्ने मन्त्रालयले जारी गरेको शर्तमा उल्लेख छ। त्यसरी ल्याएका यात्रुको खर्चसमेत वायु सेवाले नै ब्यहोर्नुपर्ने उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell