महाराष्ट्र सरकारका मन्त्री र शिवसेनाका नेता कार्यकर्ताको धम्कीपछि बलिउड अभिनेत्री कंगना रनौतलाई भारतको केन्द्र सरकारले सुरक्षा प्रदान गरेको छ। केन्द्रीय गृह मन्त्रालयले सुरक्षा खतरा आंकलन गर्दै सोमवार कंगनालाई ‘वाई’ श्रेणीको सुरक्षा दिने निर्णय गरेको हो।
सुशान्तसिंह राजपुत मुद्दामा कंगनाले शिवसेनाको नेतृत्वमा रहेको महाराष्ट्र सरकारमाथि प्रश्न उठाएकी छन्। शिवसेना नेता तथा राज्य सभा सांसद सञ्जय राउतसँग त उनको जुहारी नै चलेको छ। राउतसहित शिवसेनाका नेताहरुले कंगनालाई मुम्बई नै नआउन भने। कंगनाले पनि हिम्मत भए रोकेर देखाउन चुनौती दिइन्।
विवादबीच सञ्जयका समर्थकहरूले कंगनालाई मार्ने धम्की समेत दिएका छन्। कंगनाविरुद्ध पुत्ता जलाउँदै प्रदर्शन पनि गरेका छन्। यस्तोमा ९ सेप्टेम्बर अर्थात बुधवार मुम्बई फर्किन लागेकी कंगनाको सुरक्षामा केन्द्र सरकारले एक कमाण्डोसहित ११ सैनिक खटाएको हो। अब कंगना मुम्बई एयरपोर्टमा उत्रिने वित्तिकै उनको साथमा सुरक्षाकर्मी खटिनेछन्।
वाई श्रेणीको सुरक्षा भिआइपीलाई दिइन्छ। दुई कमाण्डो र २ पीएसओ संलग्न हुने सुरक्षा टिममा कुल ११ जना सुरक्षाकर्मी खटिन्छन्।
कंगनाले सुशान्तको मुद्दामा महाराष्ट्र सरकारको दबाबमा मुम्बई पुलिसले निष्पक्ष छानविन नगरेको आरोप लगाउँदै आएकी छन्। अनुसन्धानमा लापरवाही र ड्रग्स कनेक्शनमा पनि मुम्बई पुलिस चुकेको भनेपछि महाराष्ट्र सरकार प्रतिरक्षामा उत्रियो।
केन्द्र सरकारबाट सुरक्षा पाएपछि कंगनाले ट्वीटरमार्फत गृहमन्त्री अमित शाहलाई धन्यवाद दिएकी छन्।
ये प्रमाण है की अब किसी देशभक्त आवाज़ को कोई फ़ासीवादी नहीं कुचल सकेगा,मैं @AmitShah जी की आभारी हूँ वो चाहते तो हालातों के चलते मुझे कुछ दिन बाद मुंबई जाने की सलाह देते मगर उन्होंने भारत की एक बेटी के वचनों का मान रखा, हमारे स्वाभिमान और आत्मसम्मान की लाज रखी, जय हिंद 🙏 https://t.co/VSbZMG66LT
— Kangana Ranaut (@KanganaTeam) September 7, 2020
