PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

खोलामा बगेर आएको काठ लैजान खोज्दा प्रहरी र स्थानीयबीच झडप, इन्स्पेक्टरसहित ५ जना घाइते



पहिलोपोस्ट

खोलामा बगेर आएको काठ लैजान खोज्दा प्रहरी र स्थानीयबीच झडप, इन्स्पेक्टरसहित ५ जना घाइते

जनकपुरधाम : धनुषाको बटेश्वर गाउँपालिकामा प्रहरी र स्थानीयबीच विवाद हुँदा इन्सपेक्टरसहित ५ जना घाइते भएका छन्। औरही खोलामा बगेर आएको सखुवा काठको गोलिया लैजाने विषयमा आइतबार अबेर राति बटेश्वर गाउँपालिका वडा नम्बर ५ शान्तिपुरमा प्रहरी र स्थानीयबीच झडप भएको हो।

झडपमा इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्सपेक्टरसहित २ प्रहरी र तीनजना स्थानीय घाइते भएका हुन्। गाउँलेको ढुंगामुढाबाट इप्रकाका प्रहरी निरीक्षक दीपक राय र प्रहरी जावन रामविश्वास परित घाइते भएको प्रहरी नायव निरीक्षक एमडी मुस्तफाले जानकारी दिए। उनका अनुसार क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरको एक क्लिनिकमा प्रहरी निरीक्षक र जवानको उपचार भइरहेको छ। प्रहरी निरीक्षकको निधारमा ६ वटा टाका लागेको छ।

यस्तै प्रहरीको लाठीचार्जबाट एक महिलासहित ३ जना स्थानीय घाइते भएका छन्। उनीहरुको उपचार धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा भइरहेको अजयकुमार राउतले जानकारी दिए।

बटेश्वर गाउँपालिका र क्षिरेश्वरनाथ नगरपालिकाकोबीच भएर बग्ने औरही खोलामा आइतबार दिउँसो स्थानीय मुसहर समुदायले तीन फिट मोटो सखुवा काठको गोलिया भेटेको थिए। त्यहिँ गोलिया विषयमा प्रहरीले जानकारी पाएपछि राति ९ बजेतिर नियन्त्रणमा लिन गएको बेला दुवै पक्षबीच झडप भएका हो।

प्रहरीले उक्त काठको गोलिया कारबाहीको लागि इलाकामा लग्ने र स्थानीयले उक्त गोलिया गाउँलेको हुनुपर्ने विषयमा विवाद भएको थियो। त्यसपछि प्रहरीले ट्याक्टरमा राखेको उक्त गोलिया इलाका प्रहरी कार्यालयतर्फ अघि बढाएपछि स्थानीयले ढुंगामुढा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell