PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

सुदूरपश्चिममा ६३ जना सैनिकसहित थप ७५ जनामा कोरोना पुष्टि



एम बम

सुदूरपश्चिममा ६३ जना सैनिकसहित थप ७५ जनामा कोरोना पुष्टि
फाइल फोटो।

कैलाली : सुदूरपश्चिममा सोमवार थप ७५ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा चार सय ४५ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ७१ र कञ्चनपुरका तीन जनामा संक्रमण पुष्टि भएको हो।

कैलालीको लम्की चुहा नगरपालिकाका मात्रै ६३ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए। उनीहरू सबै नेपाली सेनामा कार्यरत हुन्। लम्की चुहा नगरपालिकामा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेमा कार्यरत ६३ जना सैनिकमा कोरोना पुष्टि भएको हो।

शिक्षालयमा कार्यरत चार जना सेनामा संक्रमण पुष्टि भएपछि दुई सय ४५ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि धनगढी पठाइएको थियो। यसअघि सुदूरपश्चिममा डोटीमा कार्यरत २१ जना सैनिकमा पनि एकै दिन कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

त्यस्तै, सूचना अधिकारी श्रेष्ठले धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का चार जना, वडा नम्बर २ का दुई जना, वडा नम्बर १३ का एक जना र घोडाघोडी नगरपालिकाका एक जनामा पनि संक्रमण पुष्टि भएको बताए।

उता कञ्चनपुरको भीमदत्त नगरपालिकाका तीन जनामा संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९१ जनाको कोरोना परीक्षण गर्दा बझाङको थलारा गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell