PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

धकेलिँदै बामदेव गौतमको राष्ट्रिय सभा यात्रा : मन्त्रिपरिषदबाट सिफारिस कहिले?



कुञ्जरमणि भट्टराई

धकेलिँदै बामदेव गौतमको राष्ट्रिय सभा यात्रा : मन्त्रिपरिषदबाट सिफारिस कहिले?

काठमाडौं :  उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको ६ महिनापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुन: सोही निर्णयमा फर्कियो।

गत भदौ १८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णयमा सरकार पुगेको जानकारी गराएका थिए।

त्यसअघि गत फागुन १४ गते बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो। तर, प्रधानमन्त्री ओलीले निर्णय कार्यान्वयन गर्न नकस्ने अडान लिएपछि नेकपाको विवाद चुलिएको थियो।

ओलीले तत्कालिन अर्थमन्त्री डा युवराज खतिवडालाई राष्ट्रिय सभामा दोहोर्‍याउन चाहेका थिए। तर पार्टीको सचिवालयका अन्य सदस्यहरु भने गौतमको पक्षमा उभिएका थिए। तर, फागुन २० गते खतिवडाको राष्ट्रिय सभाको २ वर्षे कार्यकाल सकिएपछि रिक्त पदमा ६ महिनापछि पुन: गौतमलाई लैजाने निर्णय नेकपाले गरेको हो।

सिफारिस गर्न ढिलाई किन ?

गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न मन्त्रिपरिषद बैठक बस्नुपर्छ। तर, भदौ १९ गते बसेको मन्त्रिपरिषद् बैठकमा गौतमका विषयमा कुराकानी नै भएन्। आज बस्नुपर्ने नियमित मन्त्रिपरिषद् बैठकपनि बसेन। पार्टीले निर्णय गरेपनि गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सरकारले राष्ट्रपति समक्ष अहिलेसम्म सिफारिस गरेको छैन।

अब बस्ने मन्त्रिपरिषद् बैठकमा पनि गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने सम्भावना कम रहेको एक नेताले दाबी गरे।

‘स्थायी कमिटी बैठक अघि उहाँलाई राष्ट्रिय सभामा पठाउने निर्णय कार्यान्वयन हुने सम्भावना छ। मन्त्रिपरिषद् पुनगर्ठन लगायतका विषयमा प्याकेजमा नै सहमति गर्ने भएकाले केहि ढिलाई हुन सक्छ,’ ती नेताले भने।

वामदेवको राष्ट्रिय सभा यात्रा केही ढिला भएपनि पार्टीको निर्णय भने कार्यान्वय हुने ती नेताको दावी छ।

नेकपाले आगामी २६ गते स्थायी कमिटी बैठक डाकेको छ।

‘अहिले नै हुन्न’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि मन्त्रिपरिषद्मा गौतमका विषयमा अहिले नै निर्णय हुनसक्ने अवस्था कम रहेको ‍संकेत गरे।

‘प्रधानमन्त्रीले सचिवालय बैठकलाई उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा लैजाने निर्णयमा पुगेको जानकारी जानकारी गराउनुभएको छ। त्यही निर्णयमा ढुक्क भइहाल्दा भयो नि। उपयुक्त समय आएपछि सिफारिस भइहाल्छ,’थापाले भने।

उपयुक्त समय कहिले भन्ने चाहीँ उनले खुलाउन चाहेनन्।

नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार बिहान छलफल भएको थियो। छलफलमा गौतमको विषयमा कुराकानी नभए पनि उनलाई राष्ट्रिय सभामा लैजाने निर्णय कार्यान्वयन हुने प्रचण्डका प्रेस सल्लाहाकार विष्णु सापकोटा बताउँछन्।

‘अध्यक्षद्वयको छलफलमा यस विषयमा कुराकानी भएको बारे जानकारी छैन्। तर, उपाध्यक्षलाई राष्ट्रिय सभामा लाने निर्णयमा अब तल माथि हुँदैन्, कार्यान्वयन हुन्छ, ’उनले भने।

गौतम निकट नेताहरु भने अब बस्ने मन्त्रिपरिषद् बैठकले गौतमलाई सिफारिस गर्ने दाबी गर्छन्। सचिवालय बैठकबाट भएको निर्णय कार्यान्वयन नगरे ओली नै कारवाहीको भागिदार हुने गौतम निकट केन्द्रीय सदस्य बलराम बास्कोटाको भनाइ छ।

‘सचिवालय बैठकमा निर्णय भएको छ। निर्णय कार्यान्वयन भएन् भने प्रधानमन्त्री नै कारवाहीको भागिदार बन्नुपर्छ। अब बस्ने मन्त्रिपरिषद्बाट निर्णय कार्यान्वयन हुन्छ,’ उनले भने।

स्थायी कमिटी बैठक पछि मन्त्रिपरिषद् पुनर्गठन

प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकपछि मात्रै मन्त्रिपरिषद् पुनगर्ठनको तयारी पनि गरेका छन्। यस विषयमा अध्यक्ष प्रचण्डसँग पनि उनले छलफल गरेका छन्।

प्रधानमन्त्री ओलीले १९ गतेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन नहुने बताएका थिए।

अर्थमन्त्री खतिवडाले राजीनामा दिएपछि रिक्त रहेको अर्थ र सूचना तथा सञ्चार मन्त्रालय ओलीले राखेका छन्। शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार मन्त्री वसन्त कुमार नेम्वाङले सहम्हाल्दै आएका छन्। हाल तीन मन्त्रालय मन्त्री बिहीन छ।

गौतमले राष्ट्रिय सभामा उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारीमा जाने चहाना राखेका छन्। तर, प्रधानमन्त्रीले अर्थमन्त्रालय आफैंले राख्न चाहेको पनि नेताहरु बताउँछन्। खतिवडालाई आफ्नो सचिवालयमा राखेर अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले लिने चर्चा पनि चलिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell