विराटनगर : मोरङ कांग्रेसले चार दिनसम्म विविध कार्यक्रम गरी विपी जयन्ती मनाउने तयारी गरेको छ।
विराटनगरमा उपलब्ध संगठनका पदाधिकारी तथा जिल्ला सदस्यहरुको सहभागितामा सोमवार बसेको बैठकले विपी जयन्ती मनाउने निर्णय गरेको मोरङ कांग्रेसका सचिव नागेश कोइरालाले जानकारी दिए। कोइरालाका अनुसार बैठकमा भदौ २४, २५, २६ र २७ गते चार दिनसम्म विपी जयन्ती मनाउने निर्णय गरिएको गरिएको हो।
‘पहिलो दिन विपीको सालिक भएको स्थानमा माल्यार्पण गरिने छ’, कोइरालाले भने, ‘लेटाङ र विपी सेवा केन्द्रमा मनाइने कार्यक्रममा भौतिक दूरी कायम गर्दै सीमित कांग्रेस कार्यकर्ताहरु सहभागी हुनेछन्।’
त्यस्तै, २५ गते मोरङका १७ स्थानीय तहका सभापति तथा पदाधिकारीसँग भर्चुअल छलफल गरिने उनले बताए। यसैगरी, २६ गते ६ वटा क्षेत्रमा क्षेत्रीय सभापतिहरुको सहभागितामा जुम मिटिङ गर्ने र २७ गते जिल्ला कार्यसमितिको बैठक गर्ने पनि कांग्रेसले निर्णय गरेको छ।
उक्त कार्यक्रमका लागि स्थानीय तहसँगको समन्वय उपाध्यक्ष भक्तिनाथ माझीले गर्ने तथा दोस्रो कार्यक्रम उपसभापति शिवनारायण सिंह गन्गाईले गर्ने बताइएको छ। कार्यक्रमको समन्वय सचिव नागेश कोइरालाले गर्ने छन् भने पार्टी सभापति डिबहादुर लिम्बू प्रमुख अतिथि रहने छन्।
