चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले सट्टेबाजी र लागुऔषधको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ। कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार सीपीएल क्रिकेटमा सट्टेबाजी खेलाउने चार र लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा नवलपरासी सुस्ता पूर्व गैडाकोट नगरपालिका वडा नम्बर २ का २८ वर्षीय सविन कँडेल र ३४ वर्षीय राजेश सिग्देल छन्। त्यस्तै, भरतपुर महानगरपालिका वडा नम्बर ७ का २२ वर्षीय रिनाज आचार्य र २८ वर्षीय सन्जिल लामिछाने छन्।
उनीहरुलाई प्रहरीले अनलाइन सट्टेबाजी खेलाएको आरोपमा पक्राउ गरेको हो। उनीहरुबाट नगद १ लाख ७२ हजार ५ सय रुपैयाँ र सट्टेबाजीको लागि प्रयोग गरेका मोबाइल बरामद गरिएको थापाले जानकारी दिए।
यसैगरी, प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रत्ननगर नगरपालिका वडा नम्बर २ का २५ वर्षाीय किशोर शाह र स्याङ्जा गल्याङ नगरपालिका वडा नम्बर १ घर भई हाल खैरहनी नगरपालिका वडा नम्बर १ बस्ने ४२ वर्षका राजेश बस्याल छन्।
उनीहरुलाई आइतवार साँझ ६ बजे भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडबाट पक्राउ गरिएको हो।