PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

१० दिनदेखि रिपोर्ट पर्खिँदापर्खिँदै मृत्यु, निधनपछि कोभिड-१९ पुष्टि, संक्रमित छोराले दिए दागबत्ती



पहिलोपोस्ट

१० दिनदेखि रिपोर्ट पर्खिँदापर्खिँदै मृत्यु, निधनपछि कोभिड-१९ पुष्टि, संक्रमित छोराले दिए दागबत्ती
प्रतीकात्मक तस्बिर।

काठमाडौं : सोमवार बिहान पत्रकार महासंघ कपिलवस्तुका पूर्व उपाध्यक्ष बनारसी बर्माको मृत्यु भयो। केही समय अघिदेखि सुगर र उच्च रक्तचाप र किड्नीका विरामी रहेका बर्मालाई एक्कासी स्वास्थ्यमा जटिलता आएपछि परिवारले अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भयो।

उनका जेठा छोराको पनि १५ दिन अगाडि कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो। १३ गते ट्रेसिङ मार्फत् परिवारका सबै सदस्यको स्वाब संकलन गरिएको नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुषालले जानकारी दिए।

स्वाब संकलन गरेको १० दिनसम्म पनि परिवारका अन्य सदस्यको कोभिड-१९ को रिपोर्ट आइसकेको थिएन।

भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (युसीएमएस)मा डायलाइसिस गराउँदै आएका उनलाई उनका छोराले नै भैरहवा लैजाने गर्थे। मेडिकल कलेजका स्वास्थ्यकर्मीहरुमा पनि संक्रमण पुष्टि भएपछि उनको डायलासिस रोकिएको थियो।

मृत्यु भएपछि केही घण्टामै रिपोर्ट

कोभिड-१९ संक्रमण भए पनि पहिचान नभएका बर्मा स्वाब संकलन पछि रिपोर्ट कुर्दै थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको आइसोलेसन सम्बन्धी मापदण्डमा अनुसार उनी कोभिड अस्पतालमा भर्ना हुने थिए - नतिजा समयमै आएको भए। तर आएन।

उपचारका लागि लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भयो। मृत्युपछि केही घण्टामै रिपोर्ट आयो। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार प्रयोगशालामा स्वाबको ओभरलोड भएका कारण रिपोर्ट ढिलो भएको हो।

'१३ गते स्वाब संकलन भएको थियो। यहाँबाट प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षणका लागि पठाएका थियौं,' उनले भने, 'ओभरलोड भएका कारण स्वाब क्युमा थियो। मृत्यु पछि उहाँको स्वाबलाई परीक्षणका पहल गरेर लुम्विनी प्रादेशिक अस्पताल प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ देखियो।'

लुम्बिनी प्रादेशिक प्रयोगशालामा पीसीआर जीन एक्पर्ट प्रणालीबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।

छोराले दिए दागबत्ती

यसैबीच कोभिड-१९ संक्रमण पुष्टि भएपछि नेपाली सेनाको सहयोगमा उनका छोराले नै दागबत्ती दिएका छन्।

पत्रकार बसन्त गिरीका अनुसार उनका छोराले नै बाबुको दागबत्ती दिएका हुन्।

'सुरुमा नेपाली सेनाले नै शब व्यवस्थापनको तयारी गरेको थियो,' उनले भने, 'छोराले नै दागबत्ती दिन्छु भनेपछि नेपाली सेना सबै तयारी गरेपछि उनले दागबत्ती दिए।'

यसअघि छोरामा नै कोभिड-१९ को संक्रमण पुष्टि भएपछि छोरा घरमै आइसोलेसनमा बस्दै आएका थिए। उनका परिवारका अन्य तीन जनामा पनि कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell