काठमाडौं : संगीतकार अल्मोडा राना उप्रेतीले बुटवलका धनबहादुर थापा ‘बब्लु’ ले बन्जी जम्प गरेको भिडियोमा संगीत भरे। उक्त भिडियो केही महिना यता सामाजिक सञ्जालमा ‘माइ लर्ड’ क्याप्सनसहित भाइरल भएको थियो। बन्जी गर्दा डराएका उनी ‘भगवान’लाई सम्बोधन गर्दै माइ लर्ड भन्दै चिच्याउँछन्।
उक्त भिडियोमा अल्मोडाले बिट थपेका छन् र रियाक्ट पनि गरेका छन्। अल्मोडाको आधिकारिक सञ्जालहरूमा राखिएको भिडियोमा मिश्रित प्रतिक्रिया छ। कतिले उनलाई मनोरञ्जनात्मक सामाग्रीका लागि धन्यवाद व्यक्त गरेका छन्। कतिले भने उनलाई चोरीको आरोप लगाएका छन्।
करन गिरी नामक युट्युब प्रयोगकर्ताले सोधेका छन् : प्रभावित कि चोरी? त्यस्तै समुद्र अमगाईंले 'कार्बोन कपी'को संज्ञा दिएका छन्।
दुई सातादेखि भारतीय टेलिश्रृङ्खला ‘साथ निभाना साथिया’को एक संवाद ‘रसोडे मे कोन था?’ चर्चामा रह्यो। कारण – भारतीय संगीतकर्मी यशराज मुखटेले उक्त संवादमा संगीत भर्नु। त्यस भिडियोले युट्युबमा हालसम्म ४३ मिलियन हिट्स बटुलेको छ। संवादमा बिट र भिडियोमा किबोर्ड बजाइरहेको दृश्य। यी सबैकुरा मेल खानु अल्मोडालाई पुन: एकपटक चोरीको आरोप लाग्नुको कारण बन्यो।
युट्यूब, फेसबुक प्रयोगकर्ताले भारतीय कलाकारबाट प्रभावित भए पनि ‘क्रेडिट’ दिनु पर्ने बताएका छन्। अल्मोडाले कुनै प्रतिक्रिया जनाएका छैनन्।
उनका यसअघि ‘पानी पर्यो असिना झर्यो’, ‘लाइलनको सारी’, ‘यति यति पानी’ लगायत गीत विवादमा आएका थिए।