PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

भदौमा मात्रै २०० भन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु, प्रदेशमा कति छन् संक्रमित? 



सहयोग रञ्जित

भदौमा मात्रै २०० भन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु, प्रदेशमा कति छन् संक्रमित? 

काठमाडौं : देशभर कोरोना संक्रमितको संख्या  ४८ हजार नाघेको छ। मंगलबार थप ९०२ जनामा संक्रमण पुष्टि भएसँगै कूल संक्रमितको संख्या ४८ हजार १३७ पुगेको छ।

भदौ महिनामा देशभर संक्रमितको संख्या ह्वात्तै बढेको छ। सबैभन्दा बढी संक्रमित काठमाडौँ उपत्यकामा पहिचान भएका छन्। 

भदौमा मात्रै २१ हजार ४७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ। 

यस्तै, भदौमा कोरोना संक्रमितको संख्या पनि बढेको छ। मंगलबार देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०६ पुगेकोमा २०२ जनाको मृत्यु भदौमा मात्रै भएको छ। 

कुन प्रदेशमा कति संक्रमित?

७७ जिल्लामा सबैभन्दा बढी संक्रमित राजधानी काठमाडौंमा छन्। मंगलबारसम्म काठमाडौंमा ७ हजार २१७ जनामा कोरोना संक्रमण देखिएको छ।  

काठमाडौंपछि बढी संक्रमित पर्सामा पहिचान भएका छन्। पर्सामा हालसम्म २ हजार ५०० जनामा संक्रमण देखिएको छ। 

सातै प्रदेशमा सबैभन्दा बढी संक्रमण प्रदेश २ मा छ। प्रदेश २ मा १२ हजार ४८५ जनामा संक्रमण पुष्टि भइसकेको छ। प्रदेश २ पछि वाग्मती प्रदेशमा संक्रमितको संख्या उच्च रहेको छ। यस प्रदेशमा ११ हजार ८६८ जनामा कोरोना संक्रमण देखिएको छ। 

प्रदेश ५ मा ७ हजार ४६२ जनामा संक्रमण देखिँदा, सुदूरपश्चिममा ६ हजार ३४२ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेश १ मा ४ हजार ३५१ जनामा संक्रमण पुष्टि भइसकेको छ।

यस्तै, गण्डकी प्रदेशमा २ हजार ८८१ जना र कर्णालीमा २ हजार ७४८ जनामा संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये ३२ हजार ९६४ जना संक्रमण मुक्त भइसकेका छन्। स्वास्थ्य मन्त्रालयले हाल केही दिनयता संक्रमित र मृतकको संख्यामा कमि आएकाले भन्दै अवस्था सुधारोन्मुख हुनसक्ने अनुमान गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell