इङ्ग्ल्याण्ड र अस्ट्रेलियाबीचको तीन खेलको टी २० सिरिज अन्तर्गत गएराति भएको अन्तिम खेलमा अस्ट्रेलियाले सान्त्वना जित निकालेको छ। साउथ ह्याम्टनमा सम्पन्न खेलमा अस्ट्रेलियाले ५ विकेटले जित हात पारे पनि सिरिज भने इङ्ग्ल्याण्डले २-१ ले जितेको छ।
टस हारेर ब्याटिङमा उत्रिएको इङ्ग्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। जसका लागि जोनी बेइर्स्टोले सर्वाधिक ५५ रन बनाउँदा जोइ डेन्लीले अभिजित २९, कप्तान मोइन अलीले २३ तथा डेविड मलानले २१ रनको योगदान दिएका थिए। उता अस्ट्रेलियाका लागि एडम जाम्पाले २ विकेट लिँदा एस्टोन एगर, केन रिचर्डसन, जोस हजलउड र मिचेल स्टार्कले समान १/१ विकेट लिए।
१४७ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले १९.३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। जसका लागि कप्तान आरोन फिन्स र मिचेल मार्सले सर्वाधिक ३९ रन बनाउँदा मार्क स्टोइनिसले २६, एस्टोन एगरले अभिजित १६ र म्याथु वाडेले १४ रन जोडे।
यसअघिका खेलमा इङ्ग्ल्याण्डले पहिलो खेल २ रनले र दोस्रो खेलमा ६ विकेटले जित निकालेको थियो।
