काठमाडौं : उपत्यकाभित्र पछिल्लो समय थप भएको निषेधाज्ञा आज राति १२ बजेबाट सकिँदैछ। भदौ ३ गतेबाट जारी भएको निषेधाज्ञा सकिनै लाग्दा तीन टै जिल्ला प्रशासन कार्यालयका प्रमुख (सीडीओ)ले मङ्गलवार विभिन्न सरोकारवालाहरूसँग छलफल तथा परामर्श लिएका छन्।
सरोकारवालको परामर्शपछि उनीहरूले विभिन्न विकल्प सहितको निर्णय गृह मन्त्रालयमा बुझाएका छन्। गृह मन्त्रालयले सीडीओले बुझाएको रिपोर्ट अध्याय तथा विश्लेषण गरेर निषेधाज्ञा कसरी लैजाने भन्ने तय गर्ने छ र उनीहरुलाई निर्देशन दिनेछ।
'हामीले विभिन्न विकल्पहरू दिएका छौँ। आज फेरि हामी भर्चुअल मिटिङमा बस्छौँ। त्यसपछि आज नै केही निर्णय आउँछ,' जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जनकराज दाहालले भने।
त्यस्तै, उपत्यका नगरपालिका फोरमको बैठकले सार्वजनिक यातायात सञ्चालनमा रोक लगाई अन्य सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्न सुझाव दिएको थियो। त्यस्तै केही व्यवसायीहरूले नाकालाई कडाइ गरेर उपत्यकाभित्रको दैनिकी सहज पार्न सुझाव समेत दिएका थिए।
'मिश्रित प्रक्रियाहरू आइरहेका छन्। त्यसैले त्यसमध्येबाट कुन चाहिँ विकल्प ठीक हुन्छ। त्यसको अध्याय गरेर निषेधाज्ञाको स्वरूप परिवर्तन गरेर लागू हुनेछ,' प्रमुख जिल्ला अधिकारी दाहालले भने।
लामो समयदेखि निषेधाज्ञा जारी हुँदा मानिसको दैनिकी कष्टकर बन्दै गएको छ। निषेधाज्ञाको विकल्प नहुँदा सरकारको आलोचना भइरहेको छ। त्यसैले पनि सरकार निषेधाज्ञालाई खुकुलो बनाएर लैजाने तयारीमा छ। केही क्षेत्रलाई निषेध गरेर बाँकी व्यवसायहरूलाई सञ्चालन गर्ने गरी निषेधाज्ञा खुलाउने तयारी गरेको छ।
काठमाडौँ उपत्यकाभित्र जारी भएको तीन साता लामो निषेधाज्ञाले कोभिड १९ सङ्क्रमण फैलिन केही रोकथाम भएको प्रमुख जिल्ला अधिकारीहरूको बैठकको निष्कर्ष निकालेको छ। सरकारले पछिल्लो समय मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरेर नै प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा गर्ने अधिकार दिएको थियो। तर, सीडीओले गरेको निर्णय गृह मन्त्रालयले अध्ययन गरेपछि मात्र सीडीओ कार्यालयले निषेधाज्ञा जारी तथा मोडालिटी परिवर्तन भएको जानकारी दिने गरेको छ।
