PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

कंगनालाई सुरक्षा दिने मोदी सरकारको निर्णय गलत : शिवसेना



पहिलोपोस्ट

कंगनालाई सुरक्षा दिने मोदी सरकारको निर्णय गलत : शिवसेना

शिवसेनाले बलिउड अभिनेत्री कंगना रनौतलाई सुरक्षा दिने निर्णय गलत भएको बताएको छ।

कंगनालाई शिवसेनाका नेता कार्यकर्ताले आरोपप्रत्यारोपका क्रममा मुम्बई नआउन धम्की दिएपछि नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले कंगनालाई कमाण्डोसहित ११ जना जवान रहनेगरी वाई श्रेणीको सुरक्षा दिने निर्णय गरेको छ। यो निर्णयलाई शिवसेनाले गलत भनेको हो। कंगना आजै हिमाञ्चलबाट मुम्बई आउँदैछिन्।

शिवसेना पार्टीले आफ्नो मुखपत्र 'सामना' मा सम्पादकीय लेखेर कंगनालाई देशद्रोही, बेइमान र मानसिक रूपमा विकृतको आरोप समेत लगाएको छ। ‘जसले पाकिस्तानको कब्जामा रहेको कश्मीरसँग मुम्बई शहरको तुलना गरेर अपमान गर्‍यो, उसैलाई सुरक्षा दिने गृह मन्त्रालयको निर्णय एकदमै दुर्भाग्यपूर्ण हो,’ सामनाले लेखेको छ।

‘मुम्बईको तुलना पाकिस्तान अधिनस्थ कश्मीरसँग गर्ने र मुम्बई पुलिसलाई माफिया भनेर खाकी बर्दीको अपमान गर्नु विग्रिएको मानसिकताको लक्षण हो। महाराष्ट्रका ११ करोड मराठी जनता र मुम्बईको अपमान गर्नु देशद्रोहजस्तो अपराध प्रतीत हुन्छ। तर जब यस्तो अपराध गर्ने व्यक्तिसँग मोदी सरकारको गृह मन्त्रालय सुरक्षा कवच दिएर उभिन्छ भने तब हाम्रा १०६ शहीद स्वर्गमा आँसु बगाइरहेका होलान,’ शिवसेनाले सम्पादकीयमार्फत भनेको छ।

यदि कुनै व्यक्ति महाराष्ट्रको मुख्यमन्त्रीलाई चुनौती दिन्छ भने त्यसविरुद्ध पुरै प्रदेश एकजुट हुनुपर्ने भन्दै शिवसेनाले बीजेपी सरकार मुख्यमन्त्रीकै अपमान गर्ने पक्षमा उभिएको टिप्पणी गरेको छ।

शिवसेनाले बीजेपी सरकारलाई चीन मुद्दामा केन्द्रीत हुन पनि सुझाव दिएको बीबीसी हिन्दीले जनाएको छ। महाराष्ट्रका मुख्यमन्त्री र सरकारविरुद्ध बोल्ने पक्षमा नलाग्न पनि भनेको छ।

करणी सेनाले पनि सुरक्षा दिने

यता आज मुम्बई आउन लागेकी कंगनालाई करणी सेनाले सुरक्षा दिने भएको छ। शिवसेनाले उनीविरुद्ध गतिविधि गरिरहेका बेला महाराष्ट्रको करणी सेनाले मुम्बई एयरपोर्टमा आफूहरु स्वागत तथा सुरक्षाका लागि तैनाथ रहने उल्लेख गरेको छ।

सेनाका सुरज पाल अमुले ट्वीटरमा भनेका छन्, ‘मुम्बईमा कंगना रनौतको सुरक्षाका लागि करणी सेना तैनाथ छ। रोक्न सक्छौं भने रोक।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell