सुशान्तसिंह राजपुत मुद्दामा मुख्य आरोपी रिया चक्रवर्तीलाई मंगलवार गिरफ्तार गरेर १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ। नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले ड्रग्स सेवन तथा ओसारपसारमा संलग्नता देखिएपछि उनीमाथि थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।
रियालाई हिरासतमा राखेर अनुसन्धान भइरहेका बेला बलिउड कलाकार भने रियाको समर्थनमा उत्रिएका छन्। रियालाई न्याय र पितृ सत्तालाई तोडौं भन्ने क्याम्पेनमा कलाकारहरु उत्रिएका हुन्।
मंगलवार रियालाई गिरफ्तार गर्दा उनले लगाएको टि शर्ट पनि चर्चामा रह्यो। टि शर्टमा लेखिएको शब्दले सबैको ध्यान खिच्यो। जसमा लेखिएको छ, ‘गुलाब रातो हुन्छ। बैंजनी निलो हुन्छ। आउनुस् हामी सबै मिलेर पितृसत्ताको यो जरालाई मेटाउ।’
यहाँ रियाको गिरफ्तारीलाई पितृ सत्तासँग जोडिएको छ। जसमा कलाकारहरुले पनि समर्थन जनाउँदै गिरफ्तारीको विरोध गरेका छन्।
अनुराग कश्यप, सोनम कपूर, विद्या बालन, फरहान अख्तर, अमृता अरोड़ा, दिया मिर्जा, शिबानी दांडेकर, अंगद बेदी, राधिका मदन, श्वेता बच्चनजस्ता कलाकारले सामाजिक सञ्जालमार्फत रियाको पक्षमा समर्थन जनाएका छन्।
अर्कोतिर धेरैले रियाको गिरफ्तारीको स्वागत पनि गरेका छन्। आफ्नो हिरो सुशान्तले न्याय पाउने उनीहरुको आशा छ।
