२०१९ मा विश्वमा पाँच वर्ष मुनिका बालबालिकाहरुको मृत्यु ५.२ मिलियनमा झरेको छ। यद्यपि कोभिड-१९ पान्डेमिकका कारण बाल तथा मातृ स्वास्थ्य सेवामा आएको अवरोधका कारण लाखौँ जीवन जोखिममा पारेको विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले जनाएको छ।
युनिसेफ र डब्लुएचओ, संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक मामिला विभागको जनसंख्या शाखा र विश्व बैंक समूहले जारी गरेको मृत्युदर अनुमानमा सन् २०१९ मा विश्वब्यापी पाँच वर्षमुनिको मृत्युदर तल्लो बिन्दुमा आएको उल्लेख छ। सन् २०१९ मा ५.२ मिलियनमा झरेको छ जुन १९९० मा १२.५ मिलियन थियो।
त्यसपछि भने कोभिड-१९ पान्डेमिकका कारण मुख्य स्वास्थ्य सेवा प्रभावित हुँदा कठिन रुपमा हासिल गरिएका उपलब्धिहरु जोखिममा परेको युनिसेफ र डब्लुएचओको सर्भेले देखाएको छ।
'विश्व समुदाय रोक्न सकिने बाल मृत्युलाई निर्मुल पार्ने दिशामा धेरै अगाडि बढिसकेको अवस्थामा कोभिड-१९ पान्डेमिकले हाम्रो यात्रामा बाधा पुर्याएको छ,' युनिसेफका कार्यकारी निर्देशक हेनरिटा फोरले भने, 'बालबालिकाहरु सेवास्थ्य सेवा लिन हिच्किचाए, र महिलाहरु अस्पतालमा संक्रमणको दरले सुरक्षित प्रसुति गराउन डराए भने उनीहरु कोभिड-१९ को सिकार बन्ने छन्। अवरुद्ध स्वास्थ्य प्रणाली र सेवाहरु पुन: सूचारु गर्न आपतकालिन लगानी गरिएन भने पाँच वर्षमुनिका दशौं लाख बालबालिकाहरु मुख्यगरी नवजात शिशुहरु मर्नेछन्।'
सर्भे प्रतिवेदनमा अहिले विश्वभरका कोभिड-१९ संक्रमणको त्रासका कारण देशहरुले स्वास्थ्य परीक्षण, खोप, प्रसव पूर्व र पछिका सेवाहरु जस्ता बाल तथा मातृ स्वास्थ्य सेवाहरु अवरोध भएका घटनाहरु ब्यहोरिरहेको बताइएको छ।
युनिसेफले ७७ वटा देशहरुमा गरेको सर्भेमा ६८ प्रतिशत देशहरुमा बालबालिकाको स्वास्थ्य परीक्षण, पोषण कार्यक्रमहरु प्रभावित भएको उल्लेख छ। त्यस्तै ६३ प्रतिशत देशमा जन्म पूर्वको सेवामा प्रभावित भएको यस्ता सेवामा अवरोध भएको उल्लेख छ। त्यस्तै ५९ प्रतिशतमा पोस्टनेटल केयर अवरुद्ध भएको उल्लेख छ।
त्यस्तै डब्लुएचओको पछिल्लो सर्भेले १०५ वटा देशमध्ये ५२ प्रतिशत देशहरुमा ज्वरो आएका बालबालिका लागि स्वास्थ्य सेवा प्रभावित भएको ५१ प्रतिशतमा कुपोषण ब्यवस्थापन सेवा प्रभावित भएको उल्लेख छ।
गत मेमा जोन्स हप्किन्स विश्व विद्यालयले गरेको प्रारम्भिङ मोडलिङले कोभिड-१९ को अवरोधका कारण कम्तीमा ६ हजार बालबालिकाको दैनिक मृत्यु हुने देखाएको थियो।
सर्वेक्षणमा सहभागी देशहरुले स्वास्थ्य सेवा प्रभावित हुनुमा अभिभावकहरु संक्रमणको डरले अस्पतालमा बालबालिकालाई उपचार गर्न डराउनुलाई कारण मानेका छन्। त्योसँगै आवातजावतमा कडाई, सेवा स्थगन वा बन्द, स्वास्थ्यकर्मीको अभाव तथा व्यक्तिगत सुरक्षाका साधनहरुको अभावका कारण पनि समस्या आएको बताएका छन्। जसमध्ये अफगानस्तान, बोलिभिया, क्यामरुन, सेन्ट्रल अफ्रिकन रिपब्लिक, लिविया, माडागास्कर, पाकिस्तान, सुडान र यमन मुख्य रुपमा प्रभावित भएको उल्लेख छ।
२०१९ मा ९ मध्ये ७ देशहरुमा १००० मा ५० मृत्युदर भन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ। अफगानस्तानमा १७ मा एक बालबालिकाको ५ वर्ष नपुग्दै मृत्यु हुने गरेको उल्लेख छ। कोभिड-१९ को संक्रमणको डरले स्वास्थ्य संस्थामा सेवा लिन जानेको कमीले यो दर बढ्न सक्ने बताइएको छ।
कोभिड-१९ अगाडि पनि नवजात शिशु उच्च जोखिममा रहेको र हरेक १३ सेकेन्डमा एक नवजात शिशुको मृत्यु हुने गरेको छ। ५ वर्षभन्दा कम उमेरमा मृत्यु हुने बालबालिकामध्ये ४७ प्रतिशत नवजात मृत्यु हुने गरेको छ।
सन् २०१९ मा नेपालमा हरेक १००० जन्ममध्ये ३०.८ बालबालिकाको मृत्यु पाँच वर्षभन्दा कम उमेरमा भएको युनिसेफको तथ्यांकमा उल्लेख छ।
रिपोर्टले बालमृत्युदर कम गर्न दशक देखिको प्रयासपछि प्राप्त उपलब्धिमा कोभिड-१९ को संक्रमणले असर परेको र तत्कालिन सेवा सञ्चालन नगरे तथा मातृ तथा शिशु सेवालाई निरन्तर नगरे पुन विश्व दशकपछि धकेलिनुपर्ने उल्लेख छ।
जीवन जोगाउने सेवाहरुलाई अवरोध नगर्नसमेत प्रतिवेदनमा सुझाब दिइएको छ।
प्रतिवेदनले कोभिड-१९ पान्डेमिकको नकरात्मक प्रभावबारे भन्दै गर्दा यसले बाल स्वास्थ्यसम्बन्धी आवश्यकतालाई पूरा गर्न ध्यान केन्द्रितसमेत गराएको छ।
