PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

फिल्म 'रंगिला' प्रदर्शनको २५ वर्ष पूरा, नेपालमै कमाएको थियो ६ लाख रुपैयाँ



पहिलोपोस्ट

फिल्म 'रंगिला' प्रदर्शनको २५ वर्ष पूरा, नेपालमै कमाएको थियो ६ लाख रुपैयाँ

सन् १९९० को दशकमा बलिउडमा प्रेमकथामा आधारित फिल्मको दबदबा थियो। बाजिगर, हम आपके हे कौन?, दिल वाले दुल्हनिया ले जायेंगे, आशिकीजस्ता सरल 'रोमान्टिक' मुभीको ट्रेन्ड ब्रेक गर्‍यो फिल्म 'रंगिला'ले। त्यस समय 'टपोरी लभ स्टोरी' बनाउने जोखिम मोलेका थिए निर्देशक रामगोपाल वर्माले। जसको दोस्रो हिन्दी फिल्म थियो यो।

रंगिला एक मध्यमवर्गीय युवती मिलीको कथा हो। जो आफ्ना योजना र सपनाहरू पूरा गर्न चाहन्छिन्। सपना – सफल नायिका बन्ने। उनी दुनियाँका लाखौं मानिसको जीवन पर्दामा बाँच्न चाहन्छिन्। उसको त्यो रंगिन सपना पूरा गराउने माध्यम बन्छन् राज कमल। उनीसँगको भेट पछि मिलीको पूराना साथीहरूसँगको सपना टुट्दै जान्छ। जसमध्ये विशेष साथी हुन्छन् मुन्ना।

मुन्ना अनाथ हुन्छन्। उसको पेशा नै ब्ल्याकमा फिल्मको टिकट बेच्ने। मुन्ना र राज कमल दुवैले मिलीलाई मन पराउन थाल्छन्। र, फिल्मको कथा अघि बढ्छ।

यस फिल्ममा आमिर खान, उर्मिला मातोन्डकर, ज्याक्की श्राफ मुख्य तीन पात्र हुन्। मंगलवार उक्त फिल्म सार्वजनिक भएको २५ वर्ष पुग्यो। चार करोड ५ लाख भारतीय रुपैयाँमा बनेको फिल्मले भारतमा मात्रै ३३ करोड ४ लाख रुपैयाँ कमाएको थियो।

नेपालमा भने उक्त फिल्म पहिलो पटक प्रदर्शन हुँदा व्यवसायिक रुपमा असफल ठहरियो। करिव १ वर्ष पछि पुन: रिलिज गर्दा भने फिल्मले व्यापक चर्चा र पैसा कमायो। 'दर्शकहरूले खुब रुचाउनु भयो। हलबाट निस्कदै गर्दा संवाद बोल्दै, गीत गुन्गुनाउँदै निस्कनु हुन्थ्यो', विश्वज्योति सिनेमा घर सञ्चालक मोहन सर्राफ सम्झन्छन्।

वितरकको आग्रहमा दुई साताका लागि भनेर नेपालमा पुन: प्रदर्शन गरेको फिल्म सय दिनसम्म हलबाट उत्रेन। वितरकले हलको कटाएर नेट ६ लाख रुपैयाँ एउटै सिनेमा घरबाट कमाएको दाबी गर्छन् मोहन। भन्छन्,'फिल्मको गीतदेखि कलाकारको कपडा ट्रेन्ड बन्यो। आमिर र उर्मिलाका नयाँ नयाँ फ्यानहरू जन्मिए।'

यसरी नेपाली फिल्मको कमाउने केन्द्र विश्वज्योतिमा हिन्दी फिल्म हेर्नेको घुँइचो लाग्यो।

'रंगिला'ले त्यस वर्ष उत्कृष्ट सहायक अभिनेता, उत्कृष्ट कोरियोग्राफी, उकृष्ट कस्ट्युम डिजाइनिङ, उत्कृष्ट कथा, उत्कृष्ट संगीत, आरडी बुरम्यान अवार्ड र स्पेसियल जुरी गरी ७ वटा अवार्ड जित्यो।

फिल्मका लागि आमिर खान फिल्म फेयर उत्कृष्ट अभिनेतामा मनोनित थिए तर उनी उत्कृष्ट घोषित भएनन्। त्यसअघि पनि उनले फिल्महरू 'जो जिता वही सिकन्दर' र 'हम हैं राही प्यार के'का लागि मनोनित भए तर दुवै पटक अवार्ड पाएका थिएनन्। तेस्रो पटक रंगिलाका लागि पनि मनोनयममा मात्र परे पछि उनले अवार्डहरूमा भाग लिन छाडिदिए।

निर्देशक रामगोपाल वर्माले आमिरले भूमिका निर्वाह गरेको मुन्ना यथार्थ पात्र भएको इन्डियन एक्सप्रेससँग बताएका छन्। उनले उर्मिलाको ठाउँमा भने श्रीदेवीलाई अनुबन्धित गर्न चाहेको बताएका छन्। श्रीदेवी नभएपछि मनिषा कोइराला पनि उनको रोजाइमा रहिन्। अन्तत: उर्मिलाले मिलीको भूमिका निभाइन्। उक्त भूमिकाले उर्मिलालाई हिन्दी फिल्म उद्योगमा स्थापित गर्‍यो।

उर्मिलाले त्यसअघि वर्माकै तेलुगु फिल्म 'गायम'मा काम गरेकी थिइन्। त्यहाँ उर्मिलाको नृत्य आफूले निकै रुचाएको बताएका छन्।

संगीतकार एआर रेहमानले पहिलो पटक संगीत दिएको हिन्दी फिल्म हो रंगिला। फिल्मको सिल्भर जुब्लीमा उनले हिन्दी फिल्म क्षेत्रमा आफ्नो यात्रा कसरी सुरु भयो भन्ने बारे सामाग्री ट्वीट गरेका छन्।

फिल्मको टाइटल गीत रंगीलाको भिडियोमा गायक उदितनारायण झाका छोरा आदित्य नारायण झा पनि देखिएका छन्। त्यस समय उनी ८ वर्षका थिए।

फिल्मको २५ औं वर्ष पूरा हुनु सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो। धेरै दर्शकले रामगोपाल वर्मालाई फिल्म रिमेक गर्ने बारे प्रश्न सोधे। उनले भने,'मेरो करियरको सर्वाधिक सफल फिल्ममध्ये एक हो यो। जुन फिल्म करिव करिव उत्कृष्ट छ। त्यसैले पनि यसको रिमेक आवश्यक छैन।'

'रंगिला'बाट प्रभावित भएर सन् २००४ मा अमेरिकन रोमान्टिक कमेडी फिल्म 'विन अ डेट विद ट्याड हेमिल्टन' बनेको थियो। सन् २०१० मा बनेको बलिउड फिल्म 'ब्रेक के बाद'को स्टोरी लाइन पनि रंगिलाबाट प्रभावित भएको आरोप आम दर्शकले लगाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell