काठमाडौं : भदौ ३ गतेदेखि काठमाडौं उपत्यकाभित्र जारी भएको निषेधाज्ञा खुकुलो बनाइएको छ।
पछिल्लो समय थप भएको निषेधाज्ञा बुधवार राति १२ बजेबाट सकिँदैछ। तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरु मंगलवार विभिन्न सरोकारवालाहरूसँग छलफल तथा परामर्शपछि बुधवार निषेधाज्ञालाई खुकुलो बनाउने निर्णयमा पुगेका हुन्।
‘निर्णय भइसकेको छ। केही समयमा के केमा निषेध र फूकुवा हो सार्वजनिक गर्छौँ,’ जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले भने।
तीन सातासम्म निषेध गरिएको निजी तथा सार्वजनिक सवारी साधनलाई सञ्चालनमा ल्याउने भएको छ। जोरबिजोर प्रणाली अनुसार सवारी साधन सञ्चालनमा ल्याउन लागिएको हो। १६ सिटभन्दा कम क्षमता भएका सार्वजनिक सवारी साधनलाई भने संचालन गर्न नदिने भएको छ।
त्यस्तै, व्यापार व्यवसाय पनि मापदण्ड पूरा गरेर शर्त सहित सञ्चालनमा ल्याउन दिइने भएको छ।
