PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मोरङको पुरानो सदरमुकाम रङ्गेली यसरी भयो कोरोनामुक्त, मेयर भन्छन्, ‘लकडाउन मात्र समाधान होइन’



अनन्तराज न्यौपाने

मोरङको पुरानो सदरमुकाम रङ्गेली यसरी भयो कोरोनामुक्त, मेयर भन्छन्, ‘लकडाउन मात्र समाधान होइन’

विराटनगर : सम्पूर्ण देश कोभिड १९ संक्रमणको महामारीबाट गुज्रिरहँदा मोरङको पुरानो सदरमुकाम रङ्गेली बजार र रङ्गेली नगरपालिका क्षेत्र भने कोरोनामुक्त भएको छ।

रङ्गेलीमा साक्षरता दर अत्यन्त न्यून रहेको छ। रङ्गेलीमा आधुनिक साधनस्रोत सम्पन्न अस्पताल र स्वास्थ्य क्लिनिक पनि छैनन्। प्रदेश नम्बर १ को राजधानी विराटनगरको तुलनामा रङ्गेलीलाई धेरै पिछडिएको क्षेत्र मानिन्छ। तथापि ५२ हजारभन्दा बढी जनसंख्या भएको रङ्गेली नगरपालिकामा विगत ८ दिनदेखि कोभिड–१९ को संक्रमण कसैलाई पुष्टि भएको छैन।

नगरपालिकाका प्रमुख दिलिप बगडिया भन्छन्, ‘नगरवासीको सतर्कता, कडा लकडाउन, क्वारेन्टाइन र कडा आइसोलेसनका कारणले नै आजको दिन आएको हो।’

‘चैतको आरम्भदेखि नै भारतबाट औपचारिक वा लुकिछिपी, जसरी आएको नागरिक होस्, पहिले हामीले उसको खोजी गर्‍यौं।,’ पहिलोपोस्टसँग प्रमुख बगडियाले भने, ‘यसरी आउनेलाई हामीले होम क्वारेन्टाइनमा बस्नै दिएनौँ। उनीहरुलाई क्याम्पसमा हामीले नै बनाएको क्वारेन्टाइनमा २ हप्ता राख्यौँ र पीसीआर नगराई अनि नेगेटिभ रिपोर्ट नआई घर जान दिएनौँ।’

तर यति गर्दा पनि संक्रमणबाट रङ्गेली अछूतो रहेन। रक्षा बन्धन अर्थात् साउन १९ गतेका दिन रङ्गेलीमा समुदायमा एकै पटक २२ जनालाई संक्रमण भएको पत्ता लाग्यो। यसमा विद्युत् प्राधिकरणका ५ कर्मचारी र अस्पतालका २ स्वास्थ्यकर्मी थिए।

मेयरले सुनाए, ‘त्यसपछि हामीले नगरपालिकामा तत्काल कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) को बैठक राख्यौँ र उनीहरूलाई जनता क्याम्पसमा २ दिन आइसोलेसनमा बसायौँ। दुई दिनपछि संक्रमितमध्ये १५ पुरुषलाई प्रदेश सरकारले गोठगाउँमा बनाएको आइसोलेसन र ७ महिलालाई धरानस्थित बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा पठायौँ।’

सीसीएमसीको बैठकले साउन १९ गतेदेखि नै नगरपालिकालाई आंशिक रूपमा सिल गर्ने निर्णय गर्‍यो। जसमध्ये वडा नम्बर ७ लाई पूरै सिल गरियो भने ४, ६ र ८ लाई आंशिक सिल गरियो।

‘सिल गरिएका क्षेत्रमा हामीले तरकारी पसलेलाई पनि जान दिएनौँ,’ प्रमुख दिलीप भन्छन्, ‘घरबाट कसैलाई निस्कन दिएनौँ। धेरै नगरवासी आफैँ त्रसित भएर पनि घरबाट निस्किएनन्। यो कडा लकडाउनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय व्यवसायी र नागरिक सबैको सहयोग रह्यो। लगातार २३ दिन लकडाउन गरियो।’

नगरपालिका यतिमै रोकिएन। सिल गरेका वार्डमा कन्ट्याक्ट ट्रेसिङका लागि स्वास्थ्यकर्मी खटाइयो। संक्रमित २२ जनाकै घरका र उनीहरूको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङ गरियो। यसपटकको परीक्षणमा साउन २२ गते २८ जनाको पोजिटिभ रिपोर्ट आयो।

बगडियाका अनुसार यसपछि नगरपालिकाले स्थानीय जनता क्याम्पसलाई आइसोलेसन सेन्टर बनायो र संक्रमितलाई त्यहीँ राख्ने निर्णय गर्‍यो। लगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदको साउन २५ को बैठकले जनता क्याम्पसमा १ सय शय्याको आइसोलेसन बनाउनलाई स्वीकृति प्रदान गर्‍यो। प्रदेश सरकारले आइसोलेसन सञ्चालनका लागि १५ लाख रुपैयाँ पनि प्रदान गर्‍यो।

उनले भने, ‘आइसोलेसन सञ्चालनको नेतृत्व अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रोहेन्द्र पाण्डेले गर्नुभयो। आइसोलेसनमा २ हेल्थ असिस्टेन्टलाई हामीले २४ सै घण्टा राख्यौँ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चाहिएजति पीपीई उपलब्ध गराइरह्यो।’

आइसोलेसनमा बस्ने सबैलाई साँझ–बिहान चिया–बिस्कुट तथा दुबै छाक खानाको व्यवस्था नगरपालिकाले नै गर्‍यो। नगरपालिकाले आफ्नै रेखदेखमा सञ्चालन गरेको क्यान्टिनबाट स्वस्थकर खाना आपूर्ति गरियो। सबै संक्रमितलाई पानी तताउने जग र ग्लास निःशुल्क दिइयो। एक जनालाई दिनको ४ बोतल पिउने पानी पनि उपलब्ध गराइयो।

‘यसपछि हामीले फेरि कन्ट्याक्ट ट्रेसिङलाई तीव्र बनायौँ’, प्रमुख बगडिया भन्छन्, ‘पछिल्लो चरणमा हामीले ४ सयको कन्ट्रयाक्ट ट्रेसिङ गर्‍यौं। कसैको रिपोर्ट पोजिटिभ आएन। आज ८ दिन भयो, परीक्षण त जारी छ तर कसैलाई पनि संक्रमण पुष्टि भएको छैन। अहिले विदेशबाट पनि कोही आएका छैनन्। कोही आइहाल्यो भने नगरपालिकामा तुरुन्त खबर आउने गरी हामीले संयन्त्र र सञ्जाल बनाएका छौँ।’

चैतदेखि हालसम्म नगरपालिकाले नगर क्षेत्रका २ हजार ५ सयको पीसीआर परीक्षण गराएको छ। जसमध्ये १ सय २५ जनाको पोजिटिभ देखिएको थियो।

मेयरका अनुसार त्यसमा एक जनामा मात्र कोरोना पोजिटिभ देखियो। उनलाई एक्कासि राति ज्वरो आयो र बिहानै उनको मृत्यु भयो। उनको स्वाब परीक्षण गर्दा कोभिड पुष्टि भयो।

नगरपालिकाले नगर क्षेत्रलाई बिहान १० बजे, मध्याह्न १२ बजे गर्दै भदौ २३ गतेदेखि साँझ ७.०० बजे सम्म खोल्न स्वीकृति दिएको छ। रङ्गेलीको अहिलेको जनजीवन सामान्य भएको उनी जिकिर गर्छन्।

‘कोरोना सङ्क्रमण एउटा फ्लू हो, विश्वव्यापी महामारी हो’, प्रमुख बगडियाले भने, ‘यो फेरि आउँदैन भन्ने छैन। यसका लागि हामी तयार छौँ। लकडाउन मात्र यसको समाधान होइन। सचेतना, सतर्कता, मास्क, भौतिक दूरी, सरसफाइ आदि सबै नियमलाई कडाइका साथ अवलम्बन गर्नु आवश्यक छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell