PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

सुदूरपश्चिम प्रदेशमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



एम बम

सुदूरपश्चिम प्रदेशमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

कैलाली : सुदूरपश्चिम प्रदेशमा बुधवार थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा कैलालीमा मात्रै १८ जना संक्रमित थपिएका छन्।

कैलालीको धनगढी र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा भाइरसको संक्रमण पुष्टि भएको सम्बन्धित प्रयोगशालाका सूचना अधिकारीले जानकारी दिएका छन्।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा पाँच सय ७ जनाको कोरोना परीक्षण भएकोमा १९ जनामा संक्रमण पुष्टि भएको छ। कैलालीका १८ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।

उनका अनुसार कैलालीको धनगढी उप-महानगरपालिकाका १४ जना, गोदावरी नगरपालिकाका चार जना र बाजुराको बडिमालिका नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ। उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रयोगशालामा बुधवार गरिएको परीक्षणमा दार्चुला र बझाङका चार जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए।

उनका अनुसार बझाङको दुर्गा थली गाउँपालिकाका एक जना र छब्बिसपाथीभेरा गाउँपालिकाका एक जना तथा दार्चुलाको ब्यास गाउँपालिकाका एक र महाकाली नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो।

डडेलधुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय २७ जनाको कोरोना परीक्षण गरिएको छ। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार तीन सय १८ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell