PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

तनहुँका नौ पालिकामा हट्यो निषेधाज्ञा, भानु नगरपालिकामा भदौ मसान्तसम्म जारी रहने



रासस

तनहुँका नौ पालिकामा हट्यो निषेधाज्ञा, भानु नगरपालिकामा भदौ मसान्तसम्म जारी रहने

तनहुँ : जिल्ला प्रशासन कार्यालय तनहुँले यहाँका १० पालिकामध्ये भानु नगरपालिकाबाहेक अन्य सबै पालिकामा लगाइएको निषेधाज्ञा हटाएको छ। भानु नगरपालिकाको १३ वटै वडामा भदौ २४ देखि भदौ मसान्तसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ।

कोभिड-१९ समुदायस्तरमा फैलिदै गएको र नियन्त्रणमा नआएकाले भानु नगरपालिकामा निषेधाज्ञालाई निरन्तरता दिइएको हो। यसअघि नगरपालिका क्षेत्रमा भदौ १ गते देखि २४ गतेसम्मको लागि निषेधाज्ञा जारी गरिएको थियो।

जिल्लाका अन्य नौ पालिकामा भने निषेधाज्ञा र लकडाउन हटेको छ। लकडाउन हटे पनि सजगता भने अपनाउन भनिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए।

जिल्लाको व्यास नगरपालिका, भिमाद, शुक्लागण्डकी नगरपालिका र देवघाट, आँबुखैरेनी, म्याग्दे, ऋषिङ, घिरिङ र बन्दिपुर गाउँपालिकामा यसअघि गरिएको निषेधाज्ञा तथा लकडाउन हटाइएको छ। नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेर मात्र व्यापार व्यवसाय सञ्चालन गर्न निर्देशन गरिएको छ।

व्यास नगरपालिकामा भने निषेधाज्ञा हटाइए पनि व्यापार व्यवसाय सञ्चालन गर्न बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म र बन्दिपुर गाउँपालिकामा बिहानदेखि दिउँसो २ बजेसम्म अनुमति प्रदान गरिएको प्रजिअ आचार्यले बताए।

राष्ट्रिय राजमार्गमा सञ्चालन हुने सवारी साधान, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सामाजिक दूरी कायम गरी औषधि, खाद्य, फलफूल, तरकारी र दुग्धजन्य, एम्बुलेन्स, शवबाहन, खाद्य ढुवानी, कुखुराका चल्ला, माछा मासु, तरकारी, इन्धन बोकेका सवारी साधान, कुटनीतिक नियोग, झण्डावाला सवारी, सरकारी नम्बर प्लेट, सञ्चारकर्मीको सवारी साधान र प्रशासन कार्यालयबाट जारी सवारी पासलाई भने निर्वाधरुपमा सञ्चालन गर्न पाइने छ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने बाह्य सेवाहरु, सामाजिक संघसंस्थाले सञ्चालन गर्ने कोभिड–१९ नियन्त्रण एवं स्वास्थ्य सुरक्षाबाहेक अन्य कार्यहरु, उद्योग कलकारखाना र अन्य व्यवसायहरु भने सञ्चालन गर्न निषेध गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell