काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड-१९ महामारीका कारण स्वास्थ्य प्रणाली र स्रोतमा अत्याधिक दबाब सिर्जना भएको बताएका छन्। विश्व स्वास्थ्य संगठनको क्षेत्रीय समिति (दक्षिणपूर्वी एसिया) को ७३ औँ बैठकलाई सम्बोधन गर्दै ढकालले विश्वभर संक्रमितको संख्या बढ्दै गएका कारण सीमित स्रोत र साधनबाट काम गर्नु परेको बताए।
‘परीक्षण, आइसोलेसन, कन्ट्याक्ट ट्रेसिङ र आपूर्तिको क्षमता भरपुर सुदृढ गर्दा पनि बढ्दो संक्रमितहरूको संख्याले रोग नियन्त्रणका लागि थप क्रियाकलाप र स्रोतको आवश्यकता बढाउँदै लगेको छ। खासगरि बढी जनघनत्व भएका प्रमुख शहरमा बढी प्रभाव परेको छ’ उनले भने।
ढकालले दक्षिणपूर्वी एसिया क्षेत्र आयूर्वेद र अन्य वैकल्पिक चिकित्साका क्षेत्रमा निकै धनी भएका भन्दै कोरोनाविरुद्ध सहकार्य गर्न जरूरी रहेको बताए।
२०२० को सुरुतातदेखि नै सबै देशले कोभिड १९ को सामना गरेको भन्दै उनले यसले मानव स्वास्थ्यमा मात्रै नकारात्मक असर नपारेको बताए। ‘सामाजिक र आर्थिक क्षेत्रहरूमा पनि व्यापक असर गरेको छ’, उनले भने।
भूकम्पपछि नेपालमा स्वास्थ्य आपतकालीन अवस्थाहरूको प्रतिकार्यका विभिन्न आपतकालीन केन्द्रहरूका साथै इमरजेन्सी मेडिकल डिप्लयमेण्ट टिम, अस्पतालहरूको सञ्जालको विस्तार भएको उल्लेख गर्दै ढकालले कोरोना महामारीका अन्य स्वास्थ्य आपतकालभन्दा फरक भए पनि आधारभूत व्यवस्थाले स्थापित संयन्त्र थप निर्माण गरी द्रुत गतिमा कार्यान्वयन गर्न सफल भएको बताए।
उनले महामारीको समयमा अत्यावश्यक सेवाहरूको सुनिश्चितता निकै चुनौतीपूर्ण हुने भन्दै यसको निवारणका लगि टेलिमेडिसन, कल सेन्टर जस्ता वैकल्पिक सेवा प्रवाह गर्ने संयन्त्र स्वास्थ्य प्रणालीको सुधारका अभिन्न अंग बन्नुपर्नेमा जोड समेत दिए।
मन्त्री ढकालले सन् २०१९ मा नेपालले हेपाटाइटिस बी नियन्त्रणको लक्ष्य हासिल गरेको भन्दै क्षयरोगको प्रकोप थाहा पाउन राष्ट्रिय सर्वेक्षण गर्न सफल भएको समेत बताए। उक्त कार्यबाट क्षयरोग अन्त्य गर्ने रणनीति तथा योजना बनाउनका महत्वपुर्ण सूचना उपलब्ध भएको बताए। साथै उनले संगठनको सहयोगमा यसअघि नेपालले विगतमा पोलियो उन्मूलन, रूवेला नियन्त्रण, ट्रकोमा नियन्त्रण गर्न सफल भएको समेत बैठकमा अवगत गराए।
विश्व स्वास्थ्य संगठनको क्षेत्रीय समिति नेपालले महामारीको समयमा समेत नियमित रूपमा प्राविधिक मार्ग निर्देशन गरेको भन्दै ढकालले कोभिड १९ को प्रतिकार्यका साथै अत्यावश्यक सेवा र जनस्वास्थ्यका गतिविधिहरूको निरन्तरताका महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका संगठनका कर्मचारीहरूले गरेको कामको प्रशंसा समेत गरे।
ढकालले संगठनले भ्याक्सिनका साथै जेनेरिक औषधिहरूको विश्वव्यापी आपूर्तिमा विशेष भूमिका खेल्ने भएकाले यस क्षेत्रका सदस्य राष्ट्रहरूले एक-अर्कालाई सहयोग गरेर महामारीलाई चाँडै नै नियन्त्रणमा ल्याउन सफल हुनुपर्नेमा जोड दिए।
उनले क्षेत्रीय एकतालाई कायम राख्दै नयाँ उचाइमा पुर्याएर विश्वलाई महामारीविरुद्ध लड्न एक अनुकरणीय उदाहरण स्थापित गर्न आह्वान समेत गरेका छन्।
