बागलुङ : जिल्ला प्रहरी कार्यालय बागलुङले अभद्र व्यवहार गरेको कसुरमा बागलुङ नगरपालिका-४ कुँडुलेका चन्द्रकान्त पौडेललाई बुधवार पक्राउ गरेको छ।
एभिन्युज टेलिभिजनका संवाददाता राजेशचन्द्र राजभण्डारी, माउण्टेन टेलिभिजनका संवाददाता सुवास आचार्य र इ-बागलुङ अनलाइनका सहायक सम्पादक रामप्रसाद घिमिरेले दिएको उजुरीका आधारमा पौडेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पौडेलमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरीले बताए। यसअघि पत्रकार त्रयले विद्युतीय अपराधमा समेत पौडेलविरुद्ध प्रहरीमा मुद्दा दर्ता गराएका छन्।
पौडेल सामाजिक सञ्जाल फेसबुकमार्फत व्यक्तिगत मानहानी र पेशागत चरित्रमा आँच आउने गरी गालीगलौजमा उत्रेकाले मुद्दा दिनु परेको पत्रकार राजभण्डारीले बताए। पौडेलले केही दिनयता पत्रकार, प्रशासक, दलका नेतालगायतलाई लक्षित गरी अमर्यादित ढङ्गले लेखिएका पोस्ट/भिडियो फेसबुकमा राख्दै आएका थिए।