काठमाडौं : लामो समयको लकडाउन र त्यसपछि जारी निषेधाज्ञाले असहज अवस्था भोगिरहेका उपत्यकाका सर्वसाधारणले आजबाट केही खुकुलो महसुस गर्न पाउँदैछन्।
उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको स्वरुपलाई केही लचिलो बनाएका छन्। आजदेखि लागू भएको यस चरणको निषेधाज्ञा भदौ ३१ गतेसम्म जारी रहने छ।
निषेधाज्ञाका कारण करिब सुनसान रहेको सडकमा आजदेखि चहलपहल बाक्लो हुनेछ। यद्यपि जोर विजोर प्रणाली लागू भएकाले सडकमा पूर्ण रुपमा चाप भने पर्ने छैन। त्यसमाथि १६ सिटभन्दा कम क्षमताका सार्वजनिक सवारीलाई निषेध गरिएको छ। यसले साना सार्वजनिक सवारी विशेषगरी ट्याम्पो र माइक्रो बस प्रभावित हुनेछन्।
सार्वजनिक सवारी साधनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरेर सञ्चालन गर्न पाउने छन्। अर्थात् एक लहरमा एक जनामात्र यात्रु रहने व्यवस्था छ। तर, यसको अनुगमन कसरी हुन्छ भन्ने चाहिँ संदेहकै विषय बनेको छ। किनकि पछिल्लो समय सडकमा ट्राफिक प्रहरी र प्रहरीकै परिचालन कम हुँदै आएको छ। २२ सय भन्दा धेरै प्रहरी कोरोना संक्रमणको सिकार भएकाले उनीहरुलाई कसरी परिचालन गरिनेछ त्यसको आधारमा मात्र अनुगमनको अवस्था मुल्याङ्कन हुनेछ। सवारी साधानले कूल क्षमताको आधामात्र यात्रु बोक्न पाउनेछन्। यस्तै, भाडाका ट्याक्सीका हकमा चालकसहित ३ जना र एकै परिवारका सदस्य बच्चासहित पाँच जनासम्म राखेर चलाउन पाइनेछ।
अत्यावश्यक वस्तु तथा सेवाको कारोवार गर्ने पसल जुनसुकै बेला खोल्न पाइनेछ। निषेधाज्ञाको यो सबैभन्दा लचिलो निर्णय हो। यस्तै, विकास निर्माण कार्यमा संलग्न र ढुवानीका सवारी साधन दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछन्।
अनलाइन डेलिभरी र टेकअवे सेवाका लागि दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्मको समय तोकिएको छ। सपिङ मल अब सातामा तीन दिन चल्न पाउने छन्। सोमवार, बुधवार र शनिवार खोल्ने समय तोकिएको छ। फर्निचर, अटो मोबाइलसम्बन्धी पसल सोमवार र बुधवार खोल्न पाउने छन्। भाँडा तथा भान्साका सामाग्री कारोवार गर्ने पसल सातामा आइतवार, मंगलवार र शुक्रवार सञ्चालन हुनेछन्। वर्कसप बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म दैनिक सञ्चालन गर्न पाइनेछ।
फुटपाथ तथा ठेला व्यापारका लागि समय तोकिएको छ। दैनिक बिहान ११ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ। डिपार्टमेन्टल स्टोरका हकमा पनि यही नियम लागू हुनेछ।
उद्योग व्यवसाय खाने बस्ने व्यवस्था प्रतिष्ठानले नै गर्नेगरी सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गर्न पाइनेछ।
सबैसँग जोडिएको महत्वपूर्ण चाहिँ शैक्षिक संस्थासँग सम्बन्धित हो जसलाई निषेधाज्ञाले कुनै छुट दिएको छैन।
