विश्वव्यापी रुपमा कोभिड-१९ बाट मृत्यु हुने मानिसको संख्या ९ लाख पार भएको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार आज बिहानसम्म मृत्यु हुने संक्रमितको संख्या ९ लाख २ सय ३९ पुगेको हो।
सबैभन्दा धेरै संक्रमित रहेको मुलुक अमेरिकामा मृत्यु हुनेको संख्या पनि सबैभन्दा धेरै छ। विश्वविद्यालयको तथ्याङ्क अनुसार त्यहाँ मृत्यु हुने संक्रमितको संख्या १ लाख ९० हजार ७ सय ६३ दर्ता भएको छ।
धेरै मानिसले ज्यान गुमाउने मुलुकमा ब्राजिल दोस्रो स्थानमा छ। त्यहाँ अहिलेसम्म १ लाख २७ हजार ४ सय ६४ जना संक्रमितको मृत्यु भइसकेको छ। अमेरिका र ब्राजिल दुवै मुलुकका सरकार प्रमुखले लकडाउन विरोधी अभिव्यक्ति दिएका थिए। धेरै संक्रमित हुने मुलुकको सूचीमा ब्राजिल तेस्रो स्थानमा छ।
यता धेरै मानिसको मृत्यु हुने मुलुकको सूचीमा भारत तेस्रो स्थानमा छ। संक्रमित संख्या धेरै हुने मुलुकको दोस्रो सूचीमा रहेको भारतमा अहिलेसम्म ७३ हजार ८ सय ९० जनाको मृत्यु दर्ता भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।
भारतपछि धेरै मानिसले ज्यान गुमाउने मुलुकमा पर्छ, म्याक्सिको। बेलायतमा ४१ हजार ६ सय ८३ जनाले ज्यान गुमाएका छन्। इटालीमा मृत्यु हुने संक्रमितको संख्या ३५ हजार ५ सय ७७ जना रहेको छ भने फ्रान्समा ३० हजार ८ सय मानिसले ज्यान गुमाएका छन्।
