काठमाडौं : निषेधाज्ञाका कारण भदौ ३ गतेदेखि काठमाडौं उपत्यकाभित्र रोक लगाइएका निजी तथा सार्वजनिक सवारी साधन आज (बिहीवार)बाट सडकमा गुड्न पाउने भएका छन्। तर, यसरी गुड्ने निजी तथा सार्वजनिक सवारी साधनमा शर्त भने लागू गरिएको छ।
निजी तथा सार्वजनिक दुवै सवारी साधनलाई जोर बिजोर प्रणाली अन्तर्गत चल्न पाउनेछन्। जोर नम्बर प्लेट भएका सवारीले जोर गतेका दिन र बिजोर नम्बर प्लेट भएका सवारीले बिजोर गतेका दिन चल्न पाउँछन्। अर्थात् आज भदौ २५ गते सवारीको पछाडिको नम्बर बिजोर (१,३,५,७,९) भएका सवारीमात्र चल्न पाउनेछन्।
'आज बिजोर गते भएकाले बिजोर नम्बर प्लेट भएका सवारी साधन गुड्न पाउने छन्। अन्य नम्बर प्लेटका गुडेमा कारबाही हुन्छ,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले भने।
सार्वजनिक सवारी साधनमा भने यति नियमले मात्र पुग्दैन। १६ सिटभन्दा कम क्षमताका सार्वजनिक सवारीलाई निषेध गरिएको छ। यसले साना सार्वजनिक सवारी विशेषगरी ट्याम्पो र माइक्रो बस प्रभावित हुनेछन्। जसको सिट क्षमता १६ छैन त्यस्ता सवारी जोरबिजोर भएर पनि गुडाउन पाइने छैन।
'यस्ता सवारीले जोरबिजोर मात्र भएर हुँदैन। सिट क्षमता पनि हामी हेर्छौं,' एसएसपी भीमप्रसाद ढकालले भने।
तर, भाडाका ट्याक्सीका हकमा चालकसहित ३ जना र एकै परिवारका सदस्य बच्चासहित पाँच जनासम्म राखेर चलाउन पाइनेछ।
सार्वजनिक सवारी साधनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरेर सञ्चालन गर्न पाउने छन्। अर्थात् एक लहरमा एक जनामात्र यात्रु रहने व्यवस्था छ। तर, यो नियम अत्यआवश्यक सवारी साधनको हकमा भने लागू हुनेछैन।
