ग्रिस यतिखेर आगलागीका कारण प्रभावित भएका हजारौं आप्रवासीको लागि छतको व्यवस्था गर्न जुटेको छ। लेसबोस टापुमा क्षमताभन्दा बढीको बसोबास रहेको क्याम्प आगोले ध्वस्त भएको छ।
मोरिया क्याम्पमा एक्कासी आगो लागेपछि उनीहरुको लागि बसोबासको व्यवस्था मिलाउन कठिन भइरहेको छ। ग्रिक अधिकारीका अनुसार क्याम्पमा १३ हजार आप्रवासी बसोबास गर्थे। उनीहरुलाई अस्थायी रुपमा नजिकै रहेका पानि जहाजमा राखिएको छ भने केहीलाई एथेन्सबाट मगाइएको टेन्टमा राखिएको छ।
करिब ४ सय किशोर/किशोरी र बालबालिकालाई मेनल्यान्डतिरै लगिएको छ।
ग्रिक माइग्रेसन मन्त्री नोटिस मिटार्चीले अझै २ हजार मानिस खुला आकाशमुनि नै रहन बाध्य रहेको बताएका छन्। उनीहरुको बसोबासको व्यवस्था मिलाउन काम भइरहेको बताए।
'केही समयभित्रै सबै मानिसलाई टेन्टमा राख्न सकिनेमा आशावादी छु,' उनले भने, 'जोखिममा रहेका मानिस र परिवारलाई मेटिलेन शहरमा लगिएको छ जहाँ उनीहरु जहाजमा सुत्न सक्नेछन्।'
भिषण आगलागी हुँदा पनि मानवीय क्षति भने नभएको उनले जानकारी दिए।
के भएको थियो मोरियामा?
त्यहाँको टेलिभिजन इआरटीले जनाए अनुसार छोटो अवधिभित्रै तीन ठाउँमा आगो फैलिएको थियो। तीब्र गतिमा चलेको हावाले आगो फैलाउन मद्दत पुर्याएको थियो। २० फायरफाइटर, १० फायर इन्जिन र एउटा हेलिकप्टर घटनास्थलमा परिचालन गरिएको थियो।
मोरिया क्याम्पमा रहेका ३५ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको केही घन्टामा नै आगलागी भएको थियो। सोमालियन शरणार्थीमा कोरोना पुष्टि भएपछि गत सातादेखि मानिसहरुलाई क्वारेन्टाइनमा राखिएको थियो।
आगलागी त्यतिखेर भएको थियो जतिखेर कतिपय शरणार्थीहरु आफ्नो परिवारसहित आइसोलेसजनमा जान निर्देशन दिँदा अटेर गरिरहेका थिए। त्यसले स्थिति तनावपूर्ण पनि बनिरहेको थियो।
नोटिस मिटार्चीले क्याम्पमा आगो नियोजित रुपमा लगाइएको भने स्वीकारेनन्। तर, कतिपय शरणार्थीहरुले आप्रवासी र ग्रिक सुरक्षा फौजबीच विवाद भएपछि आगो सल्केको दावी गरेका छन्।
यहाँ अहिले संकटकाल लगाइएको छ। स्थितिलाई नियन्त्रणमा लिन मन्त्रीहरु नै खटिएका छन्। ग्रिक प्रधानमन्त्री किरियाकोस मिट्सोटाकिसले जन स्वास्थ्य र राष्ट्रिय सुरक्षाका हिसाबले यहाँको अवस्था यथावत नरहने बताएका छन्। युरोपेली संघले त्यहाँ सहयोगका लागि प्रस्ताव गरिसकेको छ।
मोरिया शरणार्थी क्याम्पमा करिब ७० प्रतिशत अफगानिस्तानबाट आएका मानिसहरु छन् भने ७० भन्दा धेरै देशका मानिस छन्। क्षमताभन्दा धेरै मानिसहरु यहाँ रहँदै आएका थिए।
