राजदूतको अफिसियल ह्यान्डलबाट पोर्नोग्राफिक क्लिपमा 'लाइक' भएको विषयलाई लिएर बेलायतमा रहेको चिनियाँ दूतावासले ट्विटरलाई गहन अनुसन्धान गर्न भनेको छ।
अश्लिल सामग्रीमात्र होइन राजदूत लिउ साओमिङको ट्विटर ह्यान्डलबाट चिनियाँ कम्युनिस्ट पार्टीको आलोचना गरिएका सामग्रीमा पनि 'फेभ' गरिएको भेटिएको छ।
अधिकारीहरुले चीन विरवधी तत्वले नियोजित रुपमा राजदूत लिउको ट्विटर अकाउन्डमाथि आक्रमण गरेको आरोप लगाएका छन्। यसैलाई लिएर दूतावासले ट्विरलाई अनुसन्धानका लागि भनेको हो।
माइक्रो ब्लगिङ साइट ट्विटरले भने यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन।
यो विषयमा सबैको ध्यान त्यतिखेर पुग्यो जतिखेर १० सेकेन्ड लामो अश्लिल भिडियोमा राजदूतको ह्यान्डलबाट लाइक भएको देखियो।
लन्डनमा आधारित एक मानव अधिकारकर्मीले स्क्रिनसट लिएर यसबारे जानकारी गराएका थिए। त्यसपछि भने त्यही ह्यान्डलबाट अनलाइक पनि गरिएको थियो, भलै त्यो जोसुकैले चलाएको होस्। अश्लिल सामग्रीको लाइक हटाइएको भए पनि अरु धेरै ट्विटमा लाइक भने कायमै थियो।
चीनको मेनल्यान्डमा ट्विटर प्रतिबन्ध छ। तर, पछिल्ला केही वर्षयता चिनियाँ अधिकारीहरुले यो प्ल्याटफर्ममा सक्रिय सहभागिता जनाइरहेका छन्। राजदूत लिउको अकाउन्ट अक्टोबरमा खोलेको देखिन्छ।
राजदूतले झुक्किएर हार्ट-सेपको बटन थिचेको पनि हुनसक्ने एकथरीको तर्क छ। तर, चिनियाँ अधिकारीले यसलाई नकारेका छन्। 'यस विषयमा दूतावासले ट्विटरलाई रिपोर्ट गरिसकेको छ जसमा गहन अनुसन्धान गर्न भनिएको छ किनकि यो घटना सिरियस हो,' दूतावासको विज्ञप्तिमा भनिएको छ।
