PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

अझै निर्माण भएन ६ वर्षअघि विमलेन्द्र निधिले शिलान्यास गरेको पुल, ठेकेदार भन्छ, 'यसै वर्ष सकिन्छ'



राधेश्याम पटेल

अझै निर्माण भएन ६ वर्षअघि विमलेन्द्र निधिले शिलान्यास गरेको पुल, ठेकेदार भन्छ, 'यसै वर्ष सकिन्छ'

वीरगंज : वीरगंज–२१ लिपनीविर्ता हिमालयन डिस्टीलरीको पूर्वमा अवस्थित श्रीसिया खोलामा बन्ने अढाई करोड बजेटको काशी तिवारी पुल निर्माणको काम ६ वर्ष बित्दा पनि सम्पन्न हुन सकेको छैन।

तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्री विमलेन्द्र निधिले २०७१ मंसिर २४ गते शिलान्यास गरेको पुलको काम २ वर्षभित्र सम्पन्न हुनुपर्नेमा ६ वर्ष बित्न लाग्दा पनि ठेकेदार कम्पनीको लापरवाहीले निर्माण कार्य अलपत्र परेको स्थानीय लिपनीविर्ताका वडा सदस्य जतनराउत कुर्मीले गुनासो गरे।

२०७१ सालमा काँग्रेसका नेता तथा भौतिक मन्त्री निधिले तिवाले पुलसंगै यस पुलको पनि तामझामका साथ शिलान्यास गरेका थिए। तर पुलको काम समयमा नसकिँदा जनताको सपना अझै अधुरै छ। लिपनीविर्ताको आवर सन्सार संस्थाको भवनदेखि विपश्यनासम्म जोड्ने ७ दशमलव २ मिटर चौडाईं र ३५ मिटर लम्बाईको पुल निर्माण गर्ने योजनामा हालसम्म ८५ प्रतिशत हाराहारीमा काम भएको निर्माण कम्पनीले दावी गरेको छ।

निठेकेदार कम्पनी सपना निर्माण प्रालिले यसै वर्ष काम सम्पन्न गरी हस्तान्तरण गर्ने दावी गरे पनि कामको सुस्तता देख्दा यस वर्ष पनि काम नहुने छाटकाँट देखिएको छ। उक्त पुल शिलान्यासको बेला पर्साका नेताहरु अजय द्विवेदी, अजय चौरसिया, रामनारायण कुर्मी, विचारी यादव, राजकुमार गुप्तालगायतले विकास निर्माणको बारेमा भाषण दिएका थिए। तर, आज पुलको हविगत यस्तो हुँदा कसैले ठेकेदारलाई दबाब नदिएको गाउँलेको भनाई छ।

पुल निर्माणसँगै पुलको दायाँबायाँ छेउमा बोल्डर, तारजाली तथा सडक निर्माणको लागि प्रदेश २ सरकारसंग माग गरिएको छ। लिपनीविर्ताका वडा अध्यक्ष हबिब मियाँले प्रदेश २ का भौतिक पूर्बाधार विकास मन्त्री जितेन्द्र सोनललाई भेटेर पुलको छेउमा सडक निर्माणको कामको लागि बजेट उपलब्ध गराउन माग गरेको बताए।

उनका अनुसार मन्त्री सोनलले प्रदेश २ सरकारको भौतिक पूर्वाधार कार्यालय वीरगंजका इन्जिनियरसहित स्थलगत निरीक्षण गरी पुलको दायाँबायाँ निर्माण हुने सडकको कामको लागि बजेट दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

मन्त्री सोनलसंग लिपनीविर्ताका वडा सदस्य जतनराउत कुर्मी, खेदु मण्डल, नागमणी उपाध्याय, अनिल यादवलगायतले निरीक्षण गरेको वडा समिति सभापति अनिल श्रीवास्तवले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell