काठमाडौं : सरकारले तेस्रो पटकसम्म थप गरेको निषेधाज्ञा बिहीवारदेखि खुकुलो भएको छ। व्यापार व्यवसाय सञ्चालन गर्न पाउने गरी निषेधाज्ञा खुकुलो बनाएपछि काठमाडौं उपत्यकामा चहलपहल बढेको छ। निजी तथा सार्वजनिक यातायत जोरबिजोर नम्बरका आधारमा चल्ने मापदण्ड तय भएको छ।
बिहान सडकमा सार्वजनिक यातायात कमै देखिए पनि निजी सवारीको चाप बढेको छ। जोरबिजोर भनिए पनि रिङरोड क्षेत्रमा बाइक तथा निजी सवारीको चाप देखियो। आज बिजोर दिन भए पनि जोर नम्बरका सवारी साधन पनि चलेका देखिन्छन्।
सामान बोकेका गाडी तथा मोटरसाइकलको भिडभाड देखिन्छ। सडकमा सवारीको चाप बढ्दै जाँदा कतिपय चोकहरुमा केही समय जामसमेत देखिन्छ।
सडक किनारका पसलहरु बिस्तारै खुल्न थालेका छन्। चोकमा प्रहरीको भने पातलो उपस्थिति छ। निजी सवारी साधन लगाएर काममा हिडेका तथा फुटपाथमा निस्किएका अधिकांशले कोभिड-१९ बाट बच्न मास्क लगाएको देखिन्छ।
