PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

नारायणी अस्पतालको नयाँ भवनका लागि लिपनीविर्ताबासी जग्गा दिन सहमत



पहिलोपोस्ट

नारायणी अस्पतालको नयाँ भवनका लागि लिपनीविर्ताबासी जग्गा दिन सहमत

वीरगंज : नारायणी अस्पताल वीरगंजको स्तरोन्तीको लागि अर्को भवन निर्माण कार्यको लागि वीरगंज–२१ लिपनीतिर्वाका जनता सहमत भएका छन्।

वीरगंजको छपकैयामा ४ विगाहा क्षेत्रफलमा अवस्थित नारायणी अस्पतालको संरचनाले अगामी दिनमा सेवा तथा कामलाई धान्न नसक्ने देखिएपछि अस्पताल विकास समितिले वीरगंजमै अर्को ठाउँमा करिब ५ विगाहा भन्दा बढि जग्गाको खोजी गरिरहेको छ। सोही अनुरुप वीरगंज, लिपनीविर्ताको विपश्यना ध्यान केन्द्र परवानीपुरको दक्षिणमा रहेको गैयाघाटको जग्गा उपलब्ध गराउने स्थानीयले सहमति जनाएका छन्।

जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहम्द अन्सारीको नेतृत्वमा एउटा टोलीले उक्त ठाउँको स्थलगत निरीक्षण गर्दै स्थानीयहरुसंग अन्तक्रिया गर्दै जग्गा उपलब्ध गराउन प्रयास गरेको थियो। वडा कार्यालय र स्थानीय जनताले सो क्षेत्रमा भएको ऐलानी जग्गा नारायणी अस्पताललाई उपलब्ध गराउन सहमति जनाएको नारायणी अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभले जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नारायणी अस्पतालको स्तरोन्तीको लागि ५० मिटर लम्बाई र ५० मिटर चौडा ब्लकको भवन बनाउन जग्गा उपलब्ध गराउन नारायणी अस्पताललाई पत्राचार गरेको र जिल्लाबाट जग्गा किटान गरी पठाउँदा मन्त्रालयले सो क्षेत्रमा आफ्नै लागतमा अर्को भवन बनाउने योजना छ।

‘सरकारले जग्गा मागेको छ, उसैले निर्माण कार्य गराउने हो, अब वीरगंज महानगरको कार्यपालिका बैठकले जग्गा सम्बन्धी निर्णय गरी भूमि तथा व्यवस्था मन्त्रालयको स्वीकृतिमा नारायणी अस्पतालको नाममा जग्गा दर्ता भएपछि मात्र सरकारले काम थाल्ने छ,’ अध्यक्ष लाभले भने, ‘जग्गाको अभावमा नारायणी अस्पतालको पुरानै भवन तथा संरचनामा काम गर्नु पर्दा चिकित्सक तथा कर्मचारीलाई समस्या झेल्नु पर्छ भने विरामीलाई समस्या खेप्नु पर्छ।’

अर्को भवन बनेको खण्डामा विशेषज्ञा सेवा सहितको नारायणी अस्पतालको अर्को यूनिट परवानीपुरबाट सञ्चालन गर्न सकिने अस्पतालको योजना छ। जग्गा निरीक्षण गर्ने टोलीमा कांग्रेस नेता अजय द्विवेदी, जसपाका नेता रामनरेश यादव, तबरेज यादव, स्थानीय नेता जतन राउत कुर्मी, जलन्धर पटेल, अनिल श्रीवास्तवलगायतको सहभागिता रहेको वडा अध्यक्ष हबिब मियाले जानकारी गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell