काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट खेलाडीहरुलाई सन् २०१९ को तलब पठाएको छ। क्यानका अनुसार सेन्ट्रल कन्ट्रयाक्टमा भएको भन्दा खेलाडीहरुले १० हजार बढी तलब पाएका हुन्। यसअघि अगस्टमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले खेलाडीको सूचि मागेपछि क्यानले खेलाडीको विवरण पठाएको थियो।
यसअघि क्यान निलम्बनमा रहेको अवस्थामा पनि खेलाडीको पारिश्रमिक आइसीसीले नै उपलब्ध गराउँदै आएको थियो।
२०१८ मा आइसीसीले दुई वर्षको पारिश्रमिक राष्ट्रिय खेलकूद परिषद् (राखेप)मार्फत पठाएको थियो। त्यसयता खेलाडीहरुले पारिश्रमिक पाएका थिएनन्। क्यानले खेलाडीलाई पारिश्रमिकका लागि यसअघि तीन श्रेणीमा विभाजन गरेको थियो। त्यही अनुसार नै २२ खेलाडीका लागि आइसीसीले पारिश्रमिक उपलब्ध गराउँदै आएको थियो। ए ग्रेडका खेलाडीले मासिक ४५ हजार, बी ग्रेडकाले ३५ हजार र सी ग्रेडका खेलाडीले २५ हजारका दरले पाएका हुन्।
ए श्रेणीमा कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, शरद भेषवाकर र सोमपाल कामी छन्।
यस्तै बी श्रेणीमा अभिनाश बोहोरा, आरिफ शेख, वसन्त रेग्मी, ललितनारायण राजबंशी, पवन सर्राफ, रोहित पौडेल, सन्दिप जोरा र सुसन भारी छन्।
सी श्रेणीमा इसान पाण्डे, कुशल भुर्तेल, कुशल मल्ल, प्रदीप ऐरी, राजु रिजाल र राशिद खान छन्।

