PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

बंगलादेशमा चिकित्सा शास्त्र पढ्ने विद्यार्थीको भविष्यमाथि मोरङका सिडिओले खेलबाड गरेको अभिभावक आरोप



अनन्तराज न्यौपाने

बंगलादेशमा चिकित्सा शास्त्र पढ्ने विद्यार्थीको भविष्यमाथि मोरङका सिडिओले खेलबाड गरेको अभिभावक आरोप
प्रजिअ कोशहरि निरौला

विराटनगर : बङ्गलादेशमा चिकित्सा शास्त्रमा एमबिबिएस र एमडी गरिरहेका मोरङका विद्यार्थीका अभिभावकले जिल्लाका प्रमुख जिल्ला अधिकारीले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको आरोप लगाएका छन्।

बङ्गलादेशको विश्वविद्यालयले नेपालका विद्यार्थीलाई तुरुन्त आउन सूचित गरेपछि काठमाडौं जाने पास माग्न गएका अभिभावक र विद्यार्थीलाई प्रजिअ कोशहरि निरौलाले रित्तै फर्काएपछि उनीहरू आक्रोशित भएका हुन्। बङ्गलादेशमा पढ्ने मोरङका ४ विद्यार्थी र तिनका अभिभावक पास माग्न गएका थिए।

‘विद्यार्थीलाई भदौ ३१ गते आइपुग्न भन्दै विश्वविद्यालयले पत्र पठाएको छ’, अभिभावक सञ्जीव पोखरेलले भने, ‘यसका लागि ३० गते काठमाडौंबाट चार्टर्ड फ्लाइटमा विद्यार्थी पठाउने सल्लाह भइरहेको छ। तर काठमाडौं जाने पास माग्न हामी सिडिओ निरौलासित जाँदा रित्तै फर्कनु पर्‍यो।’

सञ्जीवका अनुसार प्रजिअ निरौलाले भिसा र टिकट नदेखाएसम्म पास नदिने बताए। अभिभावकहरूले भिसा र टिकट दुबै बनाउन काठमाडौं नै जानुपर्छ भनेर प्रजिअसित अनुरोध गरे। तर पनि प्रजिअ निरौलाले पास दिएनन्।

‘यसपछि हामीले नेपालको शिक्षा मन्त्रालय र बङ्गलादेशका राजदूत वंशीधर मिश्रले सहजीकरण गरिदिनू भनेर लेखेको पत्र सिडिओ साबलाई देखायौँ, साथमा टिकट बुकिङ गरेको रसिद पनि दियौँ’, पोखरेलले भने, ‘तर उहाँले आफू शिक्षा मन्त्रालय र राजदूतको पत्रलाई मान्यता दिन बाध्य नभएको उत्तर फर्काउनु भयो। साथै टिकट बुकिङको रसिदले नहुने सक्कल टिकटै चाहिने भन्दै हामीलाई हकार्नुभयो।’

उनले अन्य जिल्लामा भएका बङ्गलादेशमा पढ्ने विद्यार्थीलाई त्यस जिल्लाका प्रजिअले काठमाडौं जाने पास सहजै दिएको भन्दै अनुरोध गर्दा पनि मोरङका प्रजिअले नमानेको गुनासो गरे।

‘यसपछि हामी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गयौँ’, सञ्जीवले सुनाए, ‘मन्त्री हिक्मत कार्कीलाई सबै कुरा सुनायौँ। उहाँले तुरुन्त पास बनाउन आदेश गर्नुभयो र आफ्ना छोराछोरी काठमाडौं पठाउन सफल भयौँ।’

उनले भने, ‘यस्तो हालत छ, एउटै देशमा दुई वटा कानुन छन्। दुई थरीले काम हुन्छ।’

पहिलोपोस्टसित मोरङका प्रजिअ निरौलाले आफूले पास नदिएको स्वीकार गरे।

उनको भनाइ थियो, ‘शिक्षा मन्त्रालय र राजदूतले भनेको मैले मान्ने होइन। मातहतको गृह मन्त्रालयको आदेश कार्यान्वयन गर्ने हो। त्यसैले पास नदिएको हो। भिसा र टिकट नभई पास दिन सक्तिन भनेको हुँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell