PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

कोरोना रोकथामका लागि प्रदेश १ सरकारले वितरण गर्‍यो १ करोड १० लाख



अनन्तराज न्यौपाने

कोरोना रोकथामका लागि प्रदेश १ सरकारले वितरण गर्‍यो १ करोड १० लाख

विराटनगर : प्रदेश नम्बर १ को सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था मिलाउन स्थानीय पालिकालाई थप १ करोड १० लाख रुपैयाँ उपलब्ध गराएको छ। प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेसन केन्द्र स्थापना तथा सञ्चालनका लागि स्थानीय पालिका, जिल्ला अस्पताल, प्रशासन लगायतलाई आवश्यक रकम पठाएको हो। विभिन्न पालिका तथा अस्पताललाई प्रदेश सरकारले रकम पठाएको मुख्यमन्त्री शेरधन राईका प्रेस संयोजक ध्रुव सुवेदीले बताए।

मोरङका सुनवर्सी नगरपालिका र रतुवामाई नगरपालिकालाई १०–१० लाख, धनपालथान गाउँपालिका, जहदा र कटहरी गाउँपालिकालाई ५–५ लाखका दरले आइसोलेसन केन्द्र स्थापना र सञ्चालनका लागि रकम पठाइएको छ।

त्यस्तै चौदण्डीगढी नगरपालिकालाई १० लाख, गौरीगञ्ज र कमल गाउँपालिकालाई ५–५ लाख रकम प्रदेश सरकारले पठाएको छ।

इलाम अस्पताललाई १० लाख, उदयपुर अस्पतालाई १५ लाख, झुम्का कारागारलाई १० लाख रकम पठाएको छ। सुनसरी जिल्लाको क्वारेन्टिन, आइसोलेसन र होल्डिङ सेन्टरको व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालय सुनसरीलाई १० लाख र प्रदेश प्रहरी कार्यालय परिसरभित्रको आइसोलेसन व्यवस्थापनका लागि प्रदेश प्रहरी कार्यालयलाई १० लाख रकम प्रदेश सरकारले कोरोना जनसुरक्षा कोषबाट उपलब्ध गराएको छ।

स्थानीय पालिकाहरूको आवश्यकता र मागबमोजिम प्रदेश सरकारले आवश्यक रकम उपलब्ध गराउँदै आएको मुख्यमन्त्री कार्यालयले जनाएको छ। कोभिड महामारीलाई पराजित गर्न तिन तहकै सरकारबीच आवश्यक समन्वय र सहकार्य रहेको सुवेदीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell